Sagun Khabar
बैतडी जिप दुर्घटना अपडेट : दुईजनाको मृत्यु, घाइते ६ जनाको उपचार हुँदै 

बैतडी–बैतडीमा शनिबार बिहान भएको जिप दुर्घटनामा परी घाइते ८ जनामध्ये दुईजनाको मृत्यु भएको छ । 

दुर्घटनामा जिप चालक डिलाशैनी गाउँपालिका–१ का २४ बर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ बर्षीय  किरण बोहराको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । 

धनगढीबाट गण्न्नातर्फ आइरहेको सु.प.प्र.०१००१ ज १३७२ नम्बरको जिप शनिबार बिहान साढे पाँच बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा दुर्घटनामा परेको थियो । 

उक्त दुर्घटनामा परेर घाइते भएका डिलाशैनी गाउँपालिका–१ का ५१ बर्षीया कलमा धामी र सोही ठाउँका २७ बर्षीय राजेन्द्रबहादुर खत्रीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

दुर्घटनामा घाइते भएका डिलाशैनी –१ का ४५ बर्षीय रामकुमार राना, २५ बर्षीय हेमन्तप्रसाद भट्ट , २१ बर्षीया भागरथी खत्री र उनकी २ बर्षीया छोरी एलीसा खत्रीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

जिप सडकबाट करीब ७० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update