
डडेल्धुरा –डडेल्धुरा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
जिल्लाभरका जन्मेदेखि १५ महिना सम्मका दुई हजार ३८३ बालबालिका मध्ये ३ जना शून्य डोज र २७ जना केही न केही खोप छुट भएको पाइएको थियो ।
यस्तै, १६ महिनादेखि ५९ महिना सम्मका सात हजार ५२० जना बालबालिकामध्ये तीन जना शून्य डोज र ७० जना केही न केही खोप छुट भएका बालबालिका भेटिएकोमा छुट भएका सबै बालबालिकालाई वैशाख महिनासम्म राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप लगाई वैशाख महिनालाई खोप महिनाको रूपमा मनाइएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।
डडेल्धुरालाई पहिलोपटक २०७२ साल पुस १० गते ‘पूर्ण खोपयुक्त जिल्ला’ घोषणा गरिएको थियो । त्यसयता प्रत्येक वर्ष ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन’ घोषणा गरिँदै आएको छ । यसपटक पनि सबै आवश्यक मापदण्ड पूरा भएपछि जिल्लालाई शनिबार पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउदले बताए ।
हाल डडेल्धुरामा एक सय छ वटा खोप केन्द्र सञ्चालनमा रहेका छन् । डडेल्धुरा जिल्लाका ५२ वटै वडा र सात वटै पालिकाहरू पूर्णखोप सुनिश्चित भइसकेपछि जिल्लालाई नै पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्लाका सात वटै पालिकाबाट एक–एक जना गरी सात जना उत्कृष्ट स्वास्थ्यकर्मीहरू र उत्कृष्ट खोप कार्यकर्ताहरूलाई प्रमाणपत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको थियो । उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै स्वास्थ्य कार्यालयका दुई जना कर्मचारी पनि सम्मानित भएका थिए ।
‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन’ को प्रमाणपत्र सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का र स्वास्थ्य निर्देशनालयका प्रमुख डा. खगेन्द्रबहादुर बमले जिल्ला खोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारीलाई हस्तान्तरण गरेका थिए ।
सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले ग्रामीण क्षेत्रमा रहेर काम गर्ने र ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपन’ जिल्ला घोषणा गर्न महत्त्वपूर्ण सहयोग गर्ने स्वास्थ्यकर्मीहरूको कार्य प्रशंसनीय रहेको बताइन् । उनले प्रदेश सरकारले ग्रामीण स्तरमा रहेका नागरिकहरूको स्वास्थ्यमा ध्यान दिएको बताइन् । उनले समय–समयमा ग्रामीण स्तरमै स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जानकारी दिइन् ।