Sagun Khabar
संविधान सभा सदस्य दयालको काव्यकृति ‘कारागारको ढोकाबाट चियाउँदा’ विमोचन 

बैतडी –बैतडी घर भएका संविधान सभा सदस्य पुरनसिंह दयालको काव्यकृति ‘कारागारको ढोकाबाट चियाउँदा’ विमोचन गरिएको छ । 

कञ्चनपुरको महेन्द्रनगरमा शनिबार आयोजित नेपाल –भारत काव्य गोष्ठीमा उक्त काव्यकृतिको विमोचन गरिएको हो । भानु जयन्तीको पूर्वसन्ध्यामा काव्य गोष्ठीको आयोजना गरिएको थियो । 

दयालद्वारा लिखित काव्यकृतिमाथि साहित्यकार जगदीश ओझा र जनज्योति क्याम्पसका उप– प्राध्यापक यज्ञराज अवस्थीले समीक्षात्मक मन्तव्य राखेका थिए । 

बैतडीको मेलौली नगरपालिका–५ घर भएका दयालका यसअघि पनि विभिन्न कृतिहरु प्रकाशित भइसकेका छन् । 

विमोचित कृतिमा कारागार बस्दा देखिएका सत्यकुराहरु कवितामार्फत उल्लेख गरिएको दयालले बताए । २०५५ सालमा तत्कालिन माओवादी विद्रोहीलाई संरक्षण गरेको आरोपमा दयाललाई पक्राउ गरिएको थियो । उनी २०५६ सालमा जेठ जेलबाट छुटेका थिए । सोही समयमा देखे भोगेका कुराहरु कृतिमार्फत सार्वजनिक गरिएको दयालले बताए । 

काव्यकृति पहिला नै तयार भएपनि आर्थिक अवस्था र अन्य कारणले ढिलो प्रकाशन भएको उनको भनाइ छ । 

दयालका यसअघि पनि ‘दलित मानव मार्यादाका व्यक्तित्वहरु’ र खपर्या एवं देवताहरुबीचको द्वन्द र सिर्जित विभेद’ कृति प्रकाशन भइसकेका छन् । 

उमेरले ७० बर्ष भएका दयाल अहिले पनि भाषा र साहित्यको जगेर्नामा सक्रिय रुपमा लागिरहेका छन् । केही कृतिहरु प्रकाशन हुने तयारीमा रहेका दयालले बताए । 

नेकपा एमालेको सल्लाहकार परिषद सदस्य समेत रहेका दयाल जातीय विभेद अन्त्यका लागि सक्रिय व्यक्तिको रुपमा चिनिएका छन् । 

उनले नेपाली, डोटेली र हिन्दी भाषामा समेत विभिन्न लेख तथा कृतिहरु प्रकाशन गरिसकेका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update