
बैतडी–बैतडीमा सवारी दुर्घटना न्यूनीकरणका लागि यो बर्ष चार ठाउँमा ‘ट्याक्टर बहस’सञ्चालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले यो बर्ष देहीमाण्डौं,सतबाँझ, खोड्पे र गोकुलेश्वरमा ट्याक्टर बहस सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
प्रदेश प्रहरी कार्यालयले सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्याक्टर बहस’ सञ्चालनमा ल्याएको उनले बताए ।
ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटनामा अधिकांश ट्याक्टर दुर्घटना हुने गरेकाले सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्याक्टर बहस’ सञ्चालन गरिएको उनले बताए । यो बहसमा सवारी चालक, सवारी धनी, सर्वसाधारण सबैलाई सहभागी गराएर सवारी दुर्घटना न्यूनीकरणका बिषयमा जानकारी दिइएको प्रहरी निरीक्षक पाण्डेयले बताए । उनले भने, ‘हामीले सवारी दुर्घटना न्यूनीकरणका लागि यो बहस सञ्चालनमा गरेका हौं । ग्रामीण क्षेत्रमा धेरैजसो ट्याक्टर दुर्घटना हुने भएकाले हामीले यसलाई ट्याक्टर बहस नाम दिएर सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका हौं ।’
ट्याक्टरलाई व्यापारिक प्रयोजन र विभिन्न वस्तुहरुको ढुवानीका लागि प्रयोग गर्नुपर्ने भएपनि यात्रुहरु समेत बोक्ने गरेको पाइएकाले बहसको नाम नै ट्याक्टर बहस राखिएको हो ।
बहसमा सवारी साधन सञ्चालन ऐन लगायतका बिषयमा जानकारी गराइएको थियो । अधिकांश ग्रामीण क्षेत्रमा ट्याक्टर चालकहरुले लाइसेन्स बिना चलाउने गरेको पाइएकाले त्यसो नगर्न बहसमा सचेत गराइएको उनले बताए ।
यस्तै अवैध रुपमा उत्खनन गरिएका नदीजन्य पदार्थको ढुवानी समेत ट्याक्टर प्रयोग हुने गरेको पाइएकाले त्यस्ता वस्तुहरु ढुवानी नगर्न प्रहरीले बहसमार्फत सचेत गराएको छ । क्षमताभन्दा बढी लोड नबोक्न आग्रह गर्नुका साथै ढुंगा, बालुवा, गिट्टी लगायतका सामग्री ढुवानी गर्दा छोप्नुपर्ने बिषयमा समेत सचेत गराइएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
ट्याक्टर सवारी बोक्न नपाइने भएपनि ग्रामीण क्षेत्रमा सवारी समेत बोक्ने गरेको पाइएकाले त्यसो नगर्न बहसमार्फत चालकहरुलाई सचेत गराइएको छ । सवारी दुर्घटना हेर्दा ट्याक्टरबाट समेत खसेर धेरै मानिसहरुको मृत्यु हुने गरेको पाइएकाले ट्याक्टरमा सवारी नबोक्न चालकहरुलाई सचेत गराइएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
ट्याक्टर बहसमार्फत सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमका बिषयमा जानकारी र अन्य कानुनी बिषयमा समेत सचेत गराइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।