Sagun Khabar
बैतडीमा ३८ खानेपानीका मूहानमा ‘कोलिफर्म’ भेटियो 

बैतडी–बैतडीमा खानेपानीका मूहानमा ‘कोलिफर्म’ भेटिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका ९ ओटा स्थानीय तहका विभिन्न स्थानमा रहेका मूहानबाट जाँचका लागि नमूना संकलन गरि परीक्षण गर्दा ३८ ओटा मूहानको पानीमा कोलिफर्म भेटिएको हो । 

शिवनाथ गाउँपालिका बाहेकका स्थानीय तहका १६४ ओटा मूहानबाट नमूना संकलन गरिएको स्वास्थ्य कार्यालयका ल्याब असिष्टेन्ट धर्मानन्द बडूले बताए । 

स्वास्थ्य कार्यालयले जेठ र असारमा नियमित रुपमा प्रयोग भइरहने मूहानबाट नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गरेको थियो । 

सबैभन्दा धेरै पुर्चाैडी नगरपालिकाका खानेपानीका मुहान दुषित रहेको पाइएको छ । ३२ ओटा नमूना संकलन गरी परीक्षण गर्दा १५ मा कोलिफर्म भेटिएको हो । पाटनमा १३ मध्ये ९, सिगासबाट १५ ओटा नमूना संकलन गरि परीक्षण गर्दा ७ मुहानमा कोलिफर्म भेटिएको छ । 

यस्तै दशरथचन्दमा ४ मध्ये १, दोगडाकेदारमा २१ मध्ये १, डिलाशैैनीमा ६ मध्ये १, पञ्चेश्वरमा १६ मध्ये १, मेलौलीमा ३७ मध्ये २ र सुर्नयमा २० मध्ये १ मा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना संकलन गरि परिक्षण गर्दा दिसामा हुने किटाणु कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीका ल्याव टेक्नीसियन निरीक्षक जयसिंह बडालले जानकारी दिए । खानेपानीका मूहानको सरसफाइ तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मूहानमा मिसिन गइ दुषित हुने गरेको उनले बताए ।

उपभोक्तालाई स्वच्छ पानी पुर्याउन स्थानीय तहहरुलाई पनि खानेपानी सुरक्षा योजना लागू गर्न भनिएको छ । खानेपानीका मूहान तथा धाराहरु सफा गर्न सुझाव पठाइएको ल्याव टेक्नीसियन निरीक्षक बडालले जानकारी दिए ।

पानीको मूहान, इन्टेक र धाराहरूलाई नियमित सरसफाइ गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टल बताए । दुषित पानीको प्रयोगले झाडापखाला, टाइफाइड, हैजा र आउँजस्ता विभिन्न सरुवाको रोगको संक्रमण बढ्ने भएकाले पानी शुद्धीकरण गरेरमात्रै प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update