
बैतडी–भारतको पिथौरागढमा अन्तरदेशीय सीमा सुरक्षा समन्वय बैठक मंगलबार सम्पन्न भएको छ ।
बैठकमा नेपालकातर्फबाट बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल नेतृत्वको टोली, दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको टोली र भारतकातर्फबाट पिथौरागढ जिल्लाका डिएम विनोद गोस्वामी नेतृत्वको टोलीको सहभागिता रहेको थियो ।
बैठकमा बैतडी र दार्चुलाका सुरक्षा निकायका प्रमुख र पिथौरागढ जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
बैठकमा सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशले मिलेर अघि बढ्ने सहमति भएको छ । यस्तै भारतसंग जोडिएका सीमा नाकामा दुवै देशका नागरिकको आवतजावतलाई अझै सरल बनाउने बिषयमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
यस्तै सीमा नाकाबाट हुन सक्ने अवैध चोरी निकासी, मानव बेचबिखन लगायतका आपराधिक गतिविधि रोक्नका लागि दुवै देशका सुरक्षा अधिकारीहरुले मिलेर काम गर्ने निर्णय समेत भएको छ ।
यस्तै सीमा क्षेत्रमा लागू औषध कारोबारलाई पूर्ण रुपमा नियन्त्रण गर्ने बिषयमा पनि बैठकमा छलफल भएको छ । सीमावर्ती भारतीय बजारमा लागू औषध सेवन गरेर नेपाली युवाहरु कुलतमा फसिरहेको बिषयमा छलफल भएको र त्यसलाई नियन्त्रणका लागि दुवै देशले सहकार्य गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
यस्तै भारतमा हुन गइरहेको स्थानीय पञ्चायत निर्वाचनलाई ध्यानमा राखेर ७२ घण्टा सीमा नाका बन्द गरिने भएको छ । सो अनुसार झुलाघाट नाका जुलाई २५ तारिखदेखि ७२ घण्टा र दार्चुलाको पुलघाट नाका २१ तारिखदेखि ७२ घण्टा बन्द हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।