
बैतडी –भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।
यही जुलाई २४ र २८ तारिख अर्थात आगामी साउन ८ र १२ गते भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ ।
उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय भएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
चुनावका लागि सीमा नाका ७२ घण्टा बन्द रहने उनले बताए । दार्चुलाको पुलघाट नाका जुलाई २१ तारिख देखि जुलाई २४ अर्थात आगामी साउन ५ गते बेलुकादेखि साउन ८ गतेसम्म बन्द रहनेछ भने बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
निर्वाचन सुरक्षालाई ध्यानमा राखेर चुनावको समयमा सीमा नाका बन्द गर्ने निर्णय सीमा सुरक्षा समन्वय बैठकले गरेको हो । नेपालतर्फ समेत निर्वाचनका समयमा सीमा नाका बन्द गर्ने प्रचलन रहेकाले भारतमा निर्वाचन हुँदा पनि सीमा नाका बन्द गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
सीमा नाका बन्द भएको समयमा आकस्मिक रुपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । बिरामी तथा अन्य आकस्मिक कामका लागि नाकाबाट आवतजावत गर्नुपरेमा नाका खोल्न सकिने उनले बताए ।