
बैतडी – सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीहरुलाई विभेद गरिएको भन्दै उनीहरुले आन्दोलित भएका हुन् ।
स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीहरुलाई ऐनले विभेद गरेकाले आफूहरु आन्दोलन उत्रिन बाध्य भएको बैतडीको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम पदनाम कायम हुने गरी समायोजन ऐन २०७५ बमोजीम स्थानीय तहमा समायोजन भएका स्वास्थ्यकर्मीहरुलाई तह वृद्धिको माग गर्दै प्रदेश सरकारलाई ज्ञापनपत्र समेत बुझाइएको महराले बताए । सुदूरपश्चिम सरकारले ल्याएको स्थानीय सेवा ऐनले सबैलाई समान किसिमको व्यवहार नगरेकाले आफूहरु आन्दोलनमा उत्रेको महराको भनाइ छ । \
सुदूरपश्चिमका ८८ ओटै स्थानीय तहमा कार्यरत विभेदमा परेका स्वास्थ्यकर्मीहरु अहिले आन्दोलनका लागि धनगढीमा रहेका संघर्ष समितिका संयोजक राजेन्द्र साउँदले बताए । सरकारले आफूहरुका माग सम्बोधन नगरेमा प्रदेशका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरु ठप्प रहने उनले चेतावनी दिए ।
यो समयमा स्वास्थ्यकर्मीहरु आन्दोलित हुँदा विभिन्न समस्या सिर्जना हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको बैतडीको भौनेली स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए । मनसुनजन्य विपद्को समय भएकाले यो बेला स्वास्थ्यकर्मी आन्दोलित नागरिकले खेप्नुपर्ने सास्ती बिषयमा जानकारी गराएको र सरकारले आफूहरुका माग सम्बोधन नगरेमा स्वास्थ्य क्षेत्रमा समस्या आउने उनले बताए ।
स्वास्थ्यकर्मीहरूले कर्मचारी समायोजन ऐन, २०७५ ले व्यवस्था गरे अनुसार आफूहरूको दरबन्दी र सेवा सुविधा मिलाउनुपर्ने बताएका छन् । शुरुमा स्थानीय तहमा समायोजन गर्दा समेत स्वास्थ्यकर्मीहरुमाथि विभेद गरिएको र अहिलेको ऐनले पनि विभेद गरेको उनीहरुको आरोप छ ।
उनीहरूले हाल कार्यरत स्वास्थ्यकर्मीको सेवा, सुविधा र पदनाम यथास्थितिमा कायम राख्नुपर्ने र प्रदेशभित्र रहेका ८८ वटा स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई एकीकृत रूपमा व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
आफूहरुका समस्या र मागका बिषयमा प्रदेश सरकार र सरोकारवाला मन्त्रालयहरुलाई जानकारी समेत गराइसकेको महराले बताए ।