Sagun Khabar
महाकाली भन्सार कार्यालयद्वारा ७६ लाख ४३ हजार रुपैयाँ  राजस्व संकलन 

बैतडी –बैतडीको सीमा नाका झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत आर्थिक बर्ष २०८१÷८२ मा ७६ लाख ४३ हजार २४३ रुपैयाँ राजस्व संकलन गरेको छ । 

कार्यालयले गत आर्थिक बर्षमा १ करोड ३ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि लक्ष्यको ७१.६५ प्रतिशतमात्रै राजस्व संकलन भएको महाकाली भन्सार कार्यालयका कम्प्युटर अपरेटर सुरेशबहादुर मन्नीले बताए । 

राजस्व संकलनको लक्ष्य नै बढी भएका कारण गत आर्थिक बर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकिएको उनको भनाइ छ । 

भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम संकलन गरिएको हो । 

अघिल्लो आर्थिक बर्ष २०८०÷८१ मा भने कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको थियो । आर्थिक बर्ष २०८०÷८१ मा ५० लाख ८९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व संकलन भएको थियो । 

झुलाघाट नाकाबाट कपडा, भाडाकुँडा, चिनी लगायतका घरायसी प्रयोजनका सामग्रीहरु भित्रिने गरेको छ । भारतीय बजारबाट आयात हुने सामग्रीबाटै राजस्व संकलन हुने गरेको कार्यालयका लेखापाल देवराज रानाले बताए । 
झुलाघाट नाकाबाट निर्यात भने शून्यकै अवस्था रहेको लेखापाल रानाले बताए । 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update