Sagun Khabar
बैतडीमा गत आर्थिक बर्षमा खर्च भएको बजेट कति ? 

बैतडी –बैतडीमा संघीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयहरुले गत आर्थिक बर्षमा खर्च गरेको बजेटको विवरण सार्वजनिक गरिएको छ । यस्तै स्थानीय तहहरुले खर्च गरेको विवरण पनि सार्वजनिक गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ । 

विनियोजन भएको बजेटमध्ये खर्च नभएको रकम फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी हरिदत्त पाण्डेयले जानकारी दिए । 

बैतडीमा गत आर्थिक बर्षमा संघीय सरकार मातहतका कार्यालयहरुका लागि ८ अर्ब ७ करोड ६९ लाख ८१ हजार ९७६ रुपैयाँ बजेट विनियोजन भएकोमा ६ अर्ब ८७ करोड ४६ लाख ७४ हजार ९६ रुपैयाँ खर्च भएको छ । विनियोजित बजेटमध्ये ८५.०८ प्रतिशत बजेट खर्च भएको र १४.९२ प्रतिशत बजेट फिर्ता भएको कोष नियन्त्रक पाण्डेयले बताए । 

बैतडीमा संघीय सरकार मातहतका कार्यालयहरुका लागि चालुतर्फ ६ अर्ब २ करोड ४ लाख ७ हजार ९७६ रुपैयाँ विनियोजन भएकोमा ५ अर्ब ४९ करोड ६७ लाख ७४ हजार ५६८ रुपैयाँ खर्च भएको छ । कुल चालु बजेटको ९१.३० प्रतिशत रकम खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

यस्तै पूँजीगततर्फ २ अर्ब ५ करोड ५५ लाख ५४ हजार रुपैयाँ विनियोजन भएकोमा १ अर्ब ३७ करोड ४६ लाख ७४ हजार ९६ रुपैयाँ खर्च भएको छ । कुल पूँजीगत बजेटको ६६.८८ प्रतिशत खर्च भएको जनाइएको छ । 

यस्तै प्रदेश मातहतका कार्यालयमा गत आर्थिक बर्षमा ३ अर्ब ३२ करोड १३ लाख ९१ हजार १ सय रुपैयाँ विनियोजन भएकोमा २ अर्ब ६१ करोड ६५ लाख ४ हजार १६९ रुपैयाँ खर्च भएको छ । विनियोजित बजेटमध्ये ७८.७८ प्रतिशत खर्च भएको छ भने २१.२२ प्रतिशत बजेट खर्च हुन नसकी फिर्ता भएको कोष नियन्त्रक पाण्डेयले बताए । 

प्रदेश सरकार मातहतका कार्यालयमा गत आर्थिक बर्षमा चालु तर्फ ९२ करोड ९४ लाख ४१ हजार १ सय रुपैयाँ विनियोजन भएकोमा ७६ करोड ६२ लाख ५९ हजार १५६ रुपैयाँ खर्च भएको छ । कुल चालु बजेटको ८२.४४ प्रतिशत खर्च भएको जनाइएको छ । 

यस्तै प्रदेश सरकार मातहतका कार्यालयमा गत आर्थिक बर्षमा पूँजीगततर्फ ३ अर्ब ३२ करोठ ९१ लाख ५० हजार रुपैयाँ विनियोजन भएकोमा २ अर्ब ६१ करोड ६५ लाख ४ हजार १६९ रुपैयाँ खर्च भएको छ । कुल पूँजीगत बजेटको ७७.३५ प्रतिशत खर्च भएको कोष नियन्त्रक पाण्डेयले बताए । 

यस्तै गत आर्थिक बर्षमा बैतडीका १० ओटै स्थानीय तहमा ५ अर्ब ३२ करोड ३२ लाख ४ हजार रुपैयाँ बजेट आएकोमा ४ अर्ब ५६ करोड ८८ लाख ८९ हजार रुपैयाँ खर्च भएको छ । स्थानीय तहहरुका लागि विनियोजन भएको कुल बजेटमध्ये ८५.८३ प्रतिशत रकम खर्च भएको छ भने १४.१७ प्रतिशत रकम खर्च हुन नसकी फिर्ता भएको कोष नियन्त्रक पाण्डेयले बताए । 

बैतडीमा स्थानीय तहहरुका लागि चालुतर्फ ३ अर्ब ९० करोड ६५ लाख ५९ हजार बजेट विनियोजन भएकोमा ३ अर्ब ५० करोड ५५ लाख १ हजार रुपैयाँ खर्च भएको छ । कुल चालुतर्फको बजेटमध्ये ८९.७३ प्रतिशत बजेट खर्च भएको बताइएको छ । बाँकी १०.२७ प्रतिशत बजेट खर्च हुन नसकी फिर्ता भएको छ । 

यस्तै स्थानीय तहका लागि पूँजीगतर्फ १ अर्ब ४१ करोड ६६ लाख ४५ हजार बजेट विनियोजन भएकोमा १ अर्ब ६ करोड ३३ लाख ८९ हजार रुपैयाँ खर्च भएको छ । कुल पूँजीगत बजेटमध्ये ७५.०६ प्रतिशत खर्च भएको र २४.९४ प्रतिशत बजेट खर्च हुन नसकी फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update