Sagun Khabar
बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीबाट एक बर्षमा ६ हजार बढीले सेवा लिए 

बैतडी–बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीबाट गत आर्थिक बर्षमा ६ हजार बढी नागरिकले सेवा लिएका छन् । 

स्वास्थ्यचौकीले गत आर्थिक बर्ष २०८१÷८२ मा सम्पादन भएका कामहरुको बारेमा जानकारी दिन आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो । एक बर्षको अवधिमा ४ हजार १ सय ६२ जना महिला र २ हजार ३ सय ८५ जना पुरुष गरी ६ हजार ५ सय ४७ जनाले सेवा लिएको स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए । 

स्वास्थ्यचौकीले बिदाको दिन समेत सेवा दिँदै आएको छ । चौबिस घण्टे सेवा अन्तर्गत बिदाको दिन बर्षभरी ८ सय २६ जना महिला र ४ सय ६६ जना पुरुष गरेर १ हजार २ सय ९२ जनाले सेवा लिएको स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए । 

यस्तै गत आर्थिक बर्षमा स्वास्थ्यचौकीले आफ्नो सेवा क्षेत्रभित्र ६० पटक गाउँघर क्लिनिक सञ्चालन गरेको र १ हजार १ सय २१ जनाले सेवा लिएको उनले बताए । यस्तै एक बर्षमा ३६ पटक खोप क्लिनिक सञ्चालन गरिएको र ६ सय २५ जनाले सेवा लिएको पञ्चेश्वर स्वास्थ्यचौकीले जनाएको छ । 

पञ्चेश्वर स्वास्थ्यचौकी अन्तर्गत १५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यका आधारभूत सेवा प्रदान गर्दै आएका छन् । एक बर्षको अवधिमा महिला स्वास्थ्य स्वयंसेविकामार्फत ८ हजार ९ सय ७४ जनाले सेवा लिएको स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए । 

यस्तै पञ्चेश्वर स्वास्थ्यचौकीले अनलाइनमार्फत बिशेषज्ञ सेवा सञ्चालन गरेको र त्यस्तो सेवा २ सय ३ जनाले प्राप्त गरेको बताइएको छ । यस्तै पञ्चेश्वर स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र २ सय ३० जनाको एचआइभी परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये एचआइभीको संक्रमण देखिएका एकजनालाई उपचारको दायरमा ल्याइएको सार्कीले बताए । 

दुर्गमको स्वास्थ्यचौकीको रुपमा रहेको पञ्चेश्वर स्वास्थ्यचौकीले उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । जिल्लाभरीका उत्कृष्ट स्वास्थ्यचौकीमध्येको पञ्चेश्वर स्वास्थ्यचौकीले चालु आर्थिक बर्षमा पनि आफ्ना सेवाहरुलाई प्रभावकारी बनाउने निर्णयसहित कार्ययोजना तयार पारेको स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए । 

उत्कृष्ट कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान 

पञ्चेश्वर स्वास्थ्यचौकीले स्वास्थ्यचौकीमा कार्यरत उत्कृष्ट दुई जना कर्मचारीलाई नगदसहित सम्मान गरेको छ । गत बर्षको कार्यसम्पादनका आधारमा स्वास्थ्यचौकीमा कार्यरत ल्याब असिष्टेन्ट रुमला धामी र कार्यालय सहयोगी कलावती तिरुवालाई नगदसहित सम्मान गरिएको हो । उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । 

यस्तै स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र रहेका १५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुले आधारभूत स्वास्थ्य सेवा प्रदानमा खेलेको भूमिकाको प्रशांसा गर्दै उनीहरुलाई समेत सम्मान गरिएको छ । नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि सम्मान गरिएको स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए । 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update