
बैतडी–पछिल्लो समयमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । देशभरजस्तै बैतडीमा पनि आत्महत्या गर्नेको संख्या हरेक बर्ष बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ ।
छिटपुटमात्रै आत्महत्याका घटना हुने गरेकोमा पछिल्लो समयमा यस्ता घटनाहरुमा बढोत्तरी भइरहेको छ । विभिन्न खालका मानसिक समस्या, पारिवारिक कलह, सामाजिक सञ्जालको दुरुपयोग लगायतका कारणले आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीको निष्कर्ष छ ।
आत्महत्या गर्नेमा किशोरावस्थाका मानिसहरुको संख्या समेत हरेक बर्ष बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांक अनुसार गएको तीन बर्षमा आत्महत्या गर्नेको संख्या ९७ जना पुगेको छ ।
आर्थिक बर्ष २०७९÷८० मा २५ जनाले आत्महत्या गरेकोमा आर्थिक बर्ष २०८०÷८१ मा त्यो संख्या बढेर ३२ जना पुगेको थियो ।
गत आर्थिक बर्ष २०८१÷८२ मा ४० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । यो प्रहरीको जानकारीमा आएको घटनामात्रै रहेकाले आत्महत्या गर्नेको संख्या अझै बढी हुन सक्ने अनुमान गरिएको छ । कतिपय घटनाहरु प्रहरीमा नआउने भएकाले आत्महत्या गर्नेको संख्या यो भन्दा बढी हुन सक्ने बताइएको छ ।
पछिल्लो समयमा आत्महत्या जनस्वास्थ्यको विकराल समस्याको रुपमा देखिन थालेको जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक पृथ्वीराज अवस्थीले बताए । आत्महत्या रोकथामका लागि पारिवारिक सम्वादको वातावरण आवश्यक रहेको उनले बताए । किशोरावस्थाका छोराछोरीहरुसंग आमा–बुवाको निरन्तर सम्वाद हुनुपर्नेमा उनले जोड दिए ।
आत्महत्या मानसिक स्वास्थ्यको समस्याका कारण बढ्दै गएकाले मानसिक स्वास्थ्यका कार्यक्रम विस्तार गरिनुपर्ने पाटन नगरपालिकाकी जनस्वास्थ्य निरीक्षक दमन्ती ऐरले बताइन् । उनले भनिन् ‘हामीले स्वास्थ्य भनेर शारीरिक स्वास्थ्यलाई मात्रै हेरिरहेका छौं । मानसिक स्वास्थ्यका बिषयमा हामीले त्यति ध्यान दिन सकेका छैनौं । त्यसैले आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्यका कार्यक्रमहरुलाई विस्तार गर्नु जरुरी छ ।’
आत्महत्या रोकथामका लागि प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । विभिन्न ठाउँमा विद्यालयहरुमा समेत पुगेर आत्महत्या रोकथामका बिषयमा सचेतना कक्षा चलाउने गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए । तर अपेक्षाकृत रुपमा आत्महत्याका घटनामा कमी भने आउन नसकेको उनले बताए । उनले भने ‘हामीले आत्महत्या रोकथामका लागि प्रयास गरिरहेका छौं । तर आत्महत्याका घटनामा कमी आउन सकेको छैन् । यसका लागि सर्वपक्षीय प्रयास आवश्यक छ ।’