Sagun Khabar
हैदरावादमा बैतडीका विनोदले जनप्रतिनिधिलाई स्वागत गरे, स्वदेशमै रोजगारीको व्यवस्था गर्न आग्रह 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानी घर भएका युवा समाजसेवी विनोद बिष्टले भारतको हैदरावादमा बैतडी, दार्चुला र डडेल्धुराका जनप्रतिनिधिको स्वागत गरेका छन् । 

भारतीय राजदूतावासको आयोजनामा राष्ट्रिय ग्रामीण तथा पञ्चायती राज्य संस्थानमा अनुकुलित तालिमका लागि भारतको तेलङ्गाना राज्यको हैदरावाद पुगेका जनप्रतिनिधिलाई  समाजसेवी बिष्टले आफूले काम गर्ने होटलै लगेर भव्य स्वागत  गरेका हुन् । 

बैतडीको दोगडाकेदार गाउँपालिका बाहेकका नौ ओटा स्थानीय तहका प्रमुखसहित दार्चुला र डडेल्धुराका २७ जनासँग भेटघाट गरिएको बिष्टले बताए । 

जनप्रतिनिधिसँगको भेटमा बिष्टले युवाहरुका लागि स्वदेशमै रोजगारीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । रोजगारीका लागि नारामात्रै नभएर काम गरिखाने वातारण सिर्जना गर्न उनले आग्रह गरेका छन् । 

स्वदेशमा रोजगारीको अवसर नभएकै कारण युवा जनशक्ति विदेश पलायन भइरहेको बताउँदै बिष्टले जनप्रतिनिधिहरुलाई भरोसायोग्य बन्न आग्रह गरेका छन् । चुनावका बेलामात्रै बाचा गर्ने तर ती वाचाहरु पूरा नहुँदा युवाहरुको आक्रोश बढ्दै गएकाले यो बिषयमा सचेत रहन आफूले जनप्रतिनिधिहरुलाई आग्रह गरेको बिष्टले बताए । 

समग्र राजनीतिप्रति युवाहरुका वितृष्णा फैलिरहेको भन्दै बिष्टले जनताका आवश्यकताका आधारमा काम गर्नुपर्ने सुझाव समेत दिएका छन् । 

भेटघाटमा जनप्रतिनिधिहरुले नागरिकका इच्छा र आकांक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । युवाहरुको साथ र सहयोगले स्थानीय सरकारहरु अझ बलियो हुने भएकाले सकारत्मक सोचका साथ सबैले आगडि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । 

बिष्ट गएको एक दशकयता भारतमा रोजगारी गर्दै आएका छन् । प्रवासमा रहेर उनले विभिन्न सामाजिक कार्य समेत गर्दै आएका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update