
बैतडी – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बैतडीमा सामूहिक कोदो खेती शुरु गरेको छ ।
जिल्ला इन्चार्ज रामसिंह कुँवरको नेतृत्वमा दोगडाकेदार गाउपालिका–१ को रीममा ७ रोपनी जमीन भाडामा लिएर सामूहिक कोदो खेती शुरु गरिएको हो ।
स्थानीय किसानहरुबाट जमीन भाडामा लिएर कोदो खेती गरिएको जिल्ला इञ्चार्ज कुँवरले बताए । पार्टीको दोगडाकेदार गाउँपालिका वडा नं १ को वडा कमिटिका २७ जना सदस्यहरु कोदो खेतीमा सरीक रहेका कुँवरले बताए ।
आत्मनिर्भर बन्ने पार्टीको केन्द्रीय नीति अनुसार स्थानीयस्तरमा पनि सामूहिक कोदो खेतीको शुरुवात गरिएको नेकपा बैतडीले जनाएको छ । बाँझो जमीन उपयोग गरेर आत्मनिर्भरताको बाटोमा लाग्नका लागि कोदो खेतीको शुरुवात गरिएको कुँवरले दाबी गरे ।
अहिले गरिएको कोदो खेतीबाट कम्तीमा दुई क्विन्टल पार्टीले सञ्चालन गरेको सी व्यापार केन्द्र काठमाण्डौंमा पठाइनेछ भने बाँकी स्थानीयस्तरमै विक्रि गरिने उनले बताए । बैतडीमा कोदो उत्पादनको राम्रो सम्भावना रहेकाले सामूहिक कोदो खेती गरिएको उनले बताए ।
आगामी दिनमा सामूहिक खेतीलाई विस्तार गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको कुँवरले बताए । सामूहिक खेतीमा पार्टीका नेता –कार्यकर्ताहरुलाई सरीक गराइने उनले बताए ।