Sagun Khabar
दार्चुला र बझाङमा बर्षा : सतर्कता अपनाउन आग्रह 

बैतडी– दार्चुला र बझाङमा पानी परेको छ । दार्चुलाको चमेलिया नदी जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा रहनेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै बझाङको बौलीगाड खोला जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको छ । यो खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा सतर्कता अपनाउन भनिएको छ ।

त्यसैगरी गएराति बर्दियाको दौलतपुर वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा पनि ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको पनि महाशाखाले जनाएको छ । देशका पहाडी भागमा मौसम साधारणतया बदली छ ।

आज बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक÷दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने सम्भावना पनि रहेको छ ।
मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना छ । आज राति देशभर साधारणतया बदली रहने अनुमान छ । कोशी र सुदूरपश्चिमलगायत देशका पहाडी भागका केही ठाउँमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update