Sagun Khabar
सेटीगाउँ क्याम्पसको स्ववियुले गर्यो सेनेटरी प्याड वितरण 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका–६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले छात्राहरुका लागि सेनेटरी प्याड वितरण गरेको छ । 

क्याम्पसमा अध्ययनरत छात्राहरुलाई महिनावारी सरसफाइका लागि सहज होस भनेर सेनेटरी प्याड वितरण गरिएको स्ववियु सभापति कृष्णसिंह रावलले बताए । 

सेटीगाउँ बहुमुखी क्याम्पसमा अध्ययनरत ३ सय ५० जना र लटिनाथ बहुमुखी क्याम्पस मार्माका ५० जना छात्रालाई सेनेटरी प्याड वितरण गरिएको उनले बताए । 

अहिले स्नातक तह प्रथम बर्षको परीक्षा सञ्चालन भइरहेकाले लटिनाथ बहुमुखी क्याम्पसका छात्राहरु समेत सेटीगाउँ बहुमुखी क्याम्पसमा आएका छन् । 

छात्राहरुको सहजताका लागि स्ववियुले एक हजार बढी सेनेटरी प्याड खरीद गरेर वितरण गरेको स्ववियु सभापति रावलले बताए । 

स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहको हकहितका लागि उनीहरुको मागमा आधारित काम गरिरहेको उनले दाबी गरे । 

स्ववियुले सेनेटरी प्याड वितरण गरेपछि छात्राहरु खुसी भएका छन् । महिनावारी सरसफाइका लागि सहज हुने उनीहरुले प्रतिक्रिया दिएका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update