
बैतडी–बैतडीमा एक बर्ष अवधिमा ५९ ओटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । गत आर्थिक बर्षमा जिल्लाभरी ५९ ओटा सवारी दुर्घटना भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ती दुर्घटनामा परेर ३० जना गम्भीर घाइते भएका छन् भने ५८ जना समान्य घाइते भएका छन् ।
अधिकांश सवारी दुर्घटना ग्रामीण कच्ची सडकमा भएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक दशरथ नाथले बताए ।
स्तरोन्नति नभएका ग्रामीण कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका कारण दुर्घटना हुने गरेका उनले बताए ।
अघिल्लो आर्थिक बर्ष २०८०÷८१ मा बैतडीमा १२ ओटा सवारी दुर्घटना परेर ११ जनाको मृत्यु भएको थियो । त्यस्तै ७ जना गम्भीर र २० जना समान्य घाइते भएका थिए ।
आर्थिक बर्ष २०७९÷८० मा बैतडीमा १५ ओटा सवारी दुर्घटनामा परेर १५ जनाको ज्यान गएको थियो । दुर्घटनामा परेर २८ जना गम्भीर र ५८ जना समान्य घाइते भएका थिए ।
सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम जारी रहेका ट्राफिक प्रहरीले जनाएको छ । तर ग्रामीण क्षेत्रसम्म ट्राफिक प्रहरीको उपस्थित नहुँदा क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका परिपाटीका कारण बढी दुर्घटना हुने गरेका छन् ।