Sagun Khabar
झुलाघाट नाकाबाट निर्यात शून्य 
फाइल फोटो

बैतडी–भारतसँग जोडिएको बैतडीको झुलाघाट नाकाबाट निर्यात शून्य रहेको छ । 

पहिला–पहिला यो नाकाबाट घिउ लगायतका वस्तुहरु निर्यात हुने भएपनि पछिल्लो समयमा निर्यात शून्य रहेको महाकाली भन्सार कार्यालय झुलाघाटले जनाएको छ । 

गत आर्थिक बर्षमा पनि झुलाघाट नाकाबाट निर्यात शून्य रहेको महाकाली भन्सार कार्यालय झुलाघाटका लेखापाल देवराज रानाले बताए । गएको चार बर्षयता नाकाबाट निर्यात लगातार शून्य रहेको छ । 

यो भन्दा अगाडि पनि यो नाकाबाट निर्यात शून्य नै रहेको स्थानीय व्यापारीहरुले बताएका छन् । झुलाघाट नाका मोटरेबल पुल नहुँदा आयात हुने सामग्रीमा कमी आएको व्यापारीहरुले बताएका छन् । 

नेपालतर्फ पनि सबै ठाउँमा सडकको पहुँच पुगेपछि झुलाघाट नाकाबाट आयातमा पनि कमी आएको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । झुलाघाट नाकामा मोटरेबल पुल नबन्दा समस्या भएको उनको भनाइ छ । 

पहिला –पहिला गौराको समयमा यहाँका स्थानीयहरु घिउ लगायतका सामग्री विक्रिका लागि भारतीय बजार झुलाघाटमा पुग्ने गर्दथे । त्यहाँबाट लुगाकपडा लगायतका सामग्री खरीद गरेर फर्कने प्रचलन रही आएको थियो । तर पछिल्लो समयमा ग्रामीण क्षेत्रसम्मै सामग्रीहरु पाइन थालेपछि झुलाघाट जानेको संख्या घट्दै गएको छ । 

गत आर्थिक बर्षमा झुलाघाट नाकाबाट आयात भएका सामग्रीबाट महाकाली भन्सार कार्यालयले ७६ लाख ४३ हजार २४३ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक बर्षमा १ करोड ३ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि लक्ष्यको ७१.६५ प्रतिशतमात्रै राजस्व संकलन भएको महाकाली भन्सार कार्यालयका कम्प्युटर अपरेटर सुरेशबहादुर मन्नीले बताए । 

राजस्व संकलनको लक्ष्य नै बढी भएका कारण गत आर्थिक बर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकिएको उनको भनाइ छ । 

भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम संकलन गरिएको हो । 

अघिल्लो आर्थिक बर्ष २०८०÷८१ मा भने कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको थियो । आर्थिक बर्ष २०८०÷८१ मा ५० लाख ८९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व संकलन भएको थियो । 

झुलाघाट नाकाबाट कपडा, भाडाकुँडा, चिनी लगायतका घरायसी प्रयोजनका सामग्रीहरु भित्रिने गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update