
बैतडी–डिभिजन वन कार्यालय बैतडीको नर्सरीमा विभिन्न प्रजातिका ७५ हजार बिरुवा उत्पादन गरिएका छन् ।
विभिन्न जडीबुटी र काठजन्य प्रजातिका ७५ हजार बिरुवा नर्सरीमा उत्पादन गरिएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरतप्रसाद भट्टले बताए । वन कार्यालयको हाताभित्र रहेको नर्सरीमा हरेक बर्ष बिरुवा उत्पादन गरिँदै आएको छ ।
गत आर्थिक बर्षमा नर्सरीमा राखिएका विभिन्न प्रजातिका ७५ हजार बिरुवा रोप्न लायक भएका भट्टले बताए । विभिन्न समूह र किसानहरुलाई निशुल्क रुपमा डिभिजन वन कार्यालयले विरुवा उपलब्ध गराउँदै आएको भट्टले बताए ।
डिभिजन वन कार्यालयको नर्सरीमा तिमुर, तेजपात, कपुर, लप्सी, श्रीखण्ड, बेल, सेतक चिनी, अमला, चाप, रीठा, देवदार, अम्बा, बडहर लगायतका बिरुवा उपलब्ध रहेका डिभिजन वन कार्यालयका सूचना अधिकारी मदन जोशीले बताए ।
यो बर्ष अहिलेसम्म ४० हजार बिरुवा जिल्लाका विभिन्न ठाउँमा वितरण भइसकेका छन् । बिरुवा रोप्न इच्छुक व्यक्ति र समूहलाई मागको आधारमा बिरुवा उपलब्ध गराउँदै आएको डिभिजन वन कार्यालयले जनाएको छ ।