
बैतडी–बैतडीको पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले आन्दोलन स्थगित गर्न नेकपा एमालेलाई आग्रह गरेका छन् ।
पाटन नगरपालिकामा भएको भनिएको अनियमितताका बिषयमा छानबिन हुनुपर्ने माग गर्दै एमाले पाटन नगर कमिटिले आइतबार घङारुको घेरबार लगाएपछि नगर प्रमुख रावलले आन्दोलन स्थगित गर्न आग्रह गरेका हुन् ।
एमालेले शुरु गरेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै नगर प्रमुख रावलले आफू काम बिशेषले बाहिर रहेकाले नगरपालिकामा देखिएको समस्या समाधानमा ढिलाई भएको प्रष्ट पारेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित अन्य कानुनहरु बमोजीम नगरपालिकामा देखिएको समस्या साउन २० गतेभित्र समाधान गर्ने नगर प्रमुख रावलले प्रतिबद्धता व्यक्त गरेका छन् ।
नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै नगर उपप्रमुख कमलसिंह बोहराको नेतृत्वमा असार २६ गते लेखा शाखामा तालाबन्दी गरिएको थियो । त्यसपछि जिल्ला समन्वय समितिका प्रमुखसहितको उपस्थितीमा लेखा शाखामा गरिएको तालाबन्दी खोलिएको थियो । नगर प्रमुख जिल्लामा आएपछि समस्याका बिषयमा छलफल गर्ने सहमतिपछि उक्त ताला खुलेको थियो ।
तर नगर उपप्रमुखले उठाएका बिषयमा छलफल नभएर तालाबन्दी खोलिएको भन्दै बजार व्यवस्थापन समितिको अगुवाईमा नगर उपप्रमुख बोहराको कार्यकक्षमा तालाबन्दी गरिएको छ । उक्त ताला समेत अहिलेसम्म खुलेको छैन् ।