
बैतडी –बैतडीको पाटन नगरपालिकामा एमालेले शुरु गरेको आन्दोलन स्थगित गरिएको छ । नगरपालिकामा भएको भनिएको अनियमितताका बिषयमा छानबिनको माग गर्दै एमालेले आइतबार घङारुको बार लगाएको थियो ।
नगर प्रमुख गौरीसिंह रावलले आज दिउँसो प्रेस विज्ञप्ती जारी गरेर आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै साउन २० गतेभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको नेकपा एमालेका पाटन नगर कमिटि इञ्चार्ज धर्मानन्द भट्टले बताए ।
पार्टीकातर्फबाट नगरपालिकामा लगाएको घेरबार आज साँझ हटाइएको भट्टले बताए । अब नगर प्रमुख आएपछि समस्याको समाधान हुने आशा पलाएको उनको भनाइ छ ।
यस्तै बजार व्यवस्थापन समितिको अगुवाईमा नगर उपप्रमुख कमलसिंह बोहराको कार्यकक्षमा लगाएको तालाबन्दी पनि खुलेको छ । नगर प्रमुख रावलले विज्ञप्ती जारी गर्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकाले ताला खोलिएको पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टले बताए ।
पाटन नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै असार २६ गते नगर उपप्रमुखको नेतृत्वमा लेखा शाखामा तालाबन्दी गरिएको थियो । उक्त तालाबन्दी जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीसहितको उपस्थितीमा असार २९ गते खोलिएको थियो ।
नगर उपप्रमुखले आँफैले उठाएको बिषयमा छानबिन नगरि तालाबन्दी खोलेको भन्दै सोही दिन बजार व्यवस्थापन समितिको अगुवाई उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको थियो ।
नगरपालिकामा देखिएका समग्र समस्या स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानुन बमोजीम समाधान गर्ने नगर प्रमुखले प्रतिबद्धता जनाएका छन् ।