Sagun Khabar
बैतडीको दोगडाकेदारका ६ ओटा वडामा नयाँ भवन निर्माण 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाका ८ ओटा वडामध्ये ६ ओटा वडा कार्यालयका नयाँ भवन निर्माण गरिएका छन् । 

पुराना तथा जीर्ण भवनबाट सेवा प्रवाहमा समस्या भएपछि गाउँपालिकाले वडा कार्यालयका भवन निर्माण कार्यलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए । 

दुई करोड ४८ लाख रुपैयाँको लागतमा ६ ओटा वडा कार्यालयका नयाँ भवन निर्माण गरिएका छन् भने बाँकी रहेका दुई ओटा वडामा पनि चालु आर्थिक बर्षमा वडा भवन निर्माण गरिने गाउँपालिका अध्यक्ष कार्कीले बताए । उनले भने, ‘वडा कार्यालयहरू जीर्ण भएपछि नयाँ निर्माण गरेका हौँ । बाँकी रहेका वडामा यो बर्ष भवन निर्माण गर्ने योजना बनाएका छौं ।’

वडा नं १ र ८ बाहेकका सबै वडामा नयाँ भवन निर्माण भइसकेका गाउँपालिकाले जनाएको छ । वडा नं २ मा ३० लाखको लागतमा नयाँ भवन निर्माण गरिएको छ भने वडा नं ३ मा ४० लाखको लागतमा नयाँ भवन निर्माण गरिएको छ । 

यस्तै वडा नं ४ मा ४५ लाखको लागतमा नयाँ भवन निर्माण गरेको गाउँपालिकाले वडा नं ५ मा ३५ लाखको लागतमा नयाँ भवन निर्माण गरेको छ । यस्तै वडा नं ६ मा ५० लाखको लागतमा नयाँ भवन निर्माण गरिएको छ भने वडा नं ७ मा ४८ लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरिएको अध्यक्ष कार्कीले बताए ।  

गाउँपालिकाले १ करोड ३० लाख रुपैयाँ लागतका गाउँपालिकाको नयाँ भवन निर्माण गरेको थियो । 

वडा कार्यालयका भवनहरु नयाँ बनेपछि इन्टरनेटको सुविधा पनि विस्तार गरिएको छ । वडा कार्यालयहरुमा इन्टरनेट सुविधा भएपछि पञ्जीकरण, सामाजिक सुरक्षा दर्ता तथा नवीकरणका काम सहजै अनलाइनबाट गर्न सहज भएको बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update