
बैतडी–विद्यालय शिक्षा विधेयकमा आफूहरुका माग सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक फेरि आन्दोलित भएका छन् ।
नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति बैतडीको आयोजनामा आज वृहत अन्तरक्रिया र जागरण सभाको आयोजना गरेर राहत शिक्षकहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नवीनसिंह धामीको उपस्थितीमा राहत शिक्षकहरुले आन्दोलनको घोषणा गरेको नेपाल राहत शिक्षक जिल्ला कार्यसमितिका सल्लाहकार नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयकमा यसअघि भएका सम्झौताहरु परिपालना नभएको भन्दै राहत शिक्षकहरु फेरि आन्दोलित भएका हुन् । सरकारले राहत शिक्षकहरुको माग सम्बोधन गर्नुको सट्टा स्थानीय तहहरुमा नवीकरण गर्नुपर्ने परिपत्र गरेकाले आफूहरु आन्दोलनमा उत्रेको चन्दले बताए ।
बृहत अन्तरक्रिया एवं जागरण सभामा बोल्दै राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष नवीनसिंह धामीले सरकारले राहत शिक्षकहरुलाई विस्थापित गर्ने नीति लिएकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताए । यसअघि सरकारले राहत शिक्षकहरुसँग गरेका सहमति र सम्झौताहरु उल्लंघन गरेर शिक्षा विधेयक तयार पारिएको उनले बताए । बिषयगत समितिबाट पारित भएको उक्त विधेयकले राहत शिक्षकहरुलाई बेवास्ता गरेको धामीको आरोप छ ।
राहत शिक्षकहरुले लामो समयदेखि राज्यको उदासिनताका कारण पीडित हुनुपरेको बताउँदै आफ्नो अधिकारका लागि लडाइँ शुरु भएको उनले उद्दघोष गरे । उनले भने,‘अहिले सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयक सार्वजनिक शिक्षालाई तहसनहस गर्ने खालको छ । आम शिक्षकहरुको भावना विपरीत विधेयक तयार पारिएको छ । त्यो विधेयक संशोधन हुनुपर्ने हाम्रो माग रहेको छ ।’
लामो समयदेखि सार्वजनिक विद्यालयमा कार्यरत रहेका राहत शिक्षकहरुलाई लत्याउने कोशीस गरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका बरिष्ठ सह अध्यक्ष भीमबहादुर सिंहले बताए ।
राहत शिक्षकहरुले आफ्नो जीवन शिक्षा क्षेत्रमा लगाएको भएपनि सरकारले उचित मूल्यांकन नगरेको राहत शिक्षक सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष प्रेमबहादुर शाहीले बताए ।
राहत शिक्षकहरुले आफूहरुका माग पू्रा गर्न सरकार तयार नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । स्थानीयस्तरबाटै आफूहरुले आन्दोलनको शुरुवात गरेको जनाउँदै उनीहरुले पेशागत सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरेका छन् ।
यसअघि नेपाल शिक्षक महासंघसँग भएको सहमति बमोजीम विद्यालय शिक्षा विधेयक तयार नभएको भन्दै राहत शिक्षकहरु आन्दोलित भएका हुन् । राज्यकै उदासिनताका कारण आफूहरु लामो समयदेखि अन्यायमा परेको उनीहरुले बताएका छन् ।
नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति बैतडीका अध्यक्ष तेजबहादुर चन्दले राहत शिक्षकहरुमा माग पूरा गराउन राहत शिक्षकहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।