Sagun Khabar
बैतडी कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा समस्या 

बैतडी– कारागार कार्यालय बैतडीमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागार बैतडीले धेरै बर्षदेखि क्षमताभन्दा बढी कैदीबन्दीको व्यवस्थापन गर्नुपरिरहेको कारगार कार्यालयकी प्रमुख धारा भण्डारीले बताइन् ।

कारागार कार्यालय बैतडीमा २५ जना क्षमताको बन्दीगृह रहेको छ तर यहाँ ६३ जनालाई राखिएको छ । कारागार बैतडीको बन्दीगृहमा १५ जना पुरुष र १० जना महिला गरेर २५ जनाको क्षमता रहेको छ ।

तर अहिले बन्दी गृहमा ५३ जना कैदीबन्दी र १० जना थुनुवा गरेर ६३ जना रहेका छन् । २५ जनाको क्षमता भएको बन्दी गृहमा ६३ जनाको व्यवस्थापन गर्नुपरिरहेको भण्डारीले बताइन् । उनले भनिन् ‘कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा बसाई व्यवस्थापनमा निकै समस्या भएको छ ।’

महिला बन्दीहरुलाई डडेल्धुरा पठाउने गरिएको छ । बन्दी व्यवस्थापनका लागि समस्या हुँदा महिला बन्दीहरुलाई डडेल्धुरा पठाउने गरिएको उनले बताइन् । 

खाट माथि खाट राखेर बन्दीहरुको बसाइ व्यवस्थापन गरिएको भण्डारीले बताइन् । पुरानो जीर्ण भवनमा बन्दीहरुलाई व्यवस्थापनका लागि निकै समस्या भएको कारागार कार्यालय बैतडीले जनाएको छ । 

जस्तापाताले छाएको जीर्ण भवनमा बर्षातको समयमा चुहिने समस्या छ भने हिउँदमा शीत झर्ने समस्या रही आएको छ । २०४० सालमा निर्माण भएको कारागार भवन जीर्ण भइसक्दा समेत नयाँ भवन बन्न सकेको छैन् । त्यसमा क्षमता भन्दा बढी कैदीबन्दी राख्नुपर्दा झन् समस्या भएको बताइएको छ ।

चालु आर्थिक बर्षदेखि नयाँ भवन निर्माण हुने बताइएको छ । नयाँ भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको र आगामी असोज ÷कार्तिकदेखि भवन निर्माणको काम शुरु हुने आफूले जानकारी पाएको उनले बताइन् । 

सघन शहरी तथा भवन निर्माण आयोजना डोटीमार्फत भवन निर्माणका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको जनाइएको छ । १० करोडको लागतमा कारागारको नयाँ भवन निर्माण हुने बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update