
बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ ।
भदौदेखि असोजसम्म तीन महिना पालिकाभित्रका सबै सार्वजनिकस्थल, विद्यालय, स्वास्थ्य संस्था लगायतमा सरसफाइ अभियान सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले बताए ।
अभियान अन्तर्गत डेङ्गीको संक्रमणबाट जोगिन ‘बासस्थान खोज र नष्ट गर’ कार्य सञ्चालन गरिने बताइएको छ । यी तीन महिनामा डेङ्गी संक्रमणको जोखिम हुने भएकाले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने बताइएको छ ।
सरसफाइ अभियान सञ्चालन गर्नका लागि गाउँपालिकाभित्रका सबै सरकारी निकाय, शिक्षण संस्था, सार्वजनिक संस्थाहरुलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए । अभियानले डेङ्गी नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको उनले बताए ।
पोथी जातको लामखुट्टेको टोकाइबाट डेङ्गी संक्रमण हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । पहाडी क्षेत्रमा समेत हरेक बर्ष डेङ्गी संक्रमण बढ्दै गएकाले व्यक्तिगत तथा वातारणीय सरसफाइमा बिशेष ध्यान दिन आग्रह गरिएको छ ।