Sagun Khabar
बैतडी प्रशासनमा थन्किए १६ हजार बढी राष्ट्रिय परिचयपत्र 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीमा १६ हजार बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । दिनहुँ राष्ट्रिय परिचय पत्रका लागि आवेदन गर्नेको संख्या बढ्दै गएपनि छापिएर आएका राष्ट्रिय परिचयपत्र भने कार्यालयमै थन्किएका छन् । 

राष्ट्रिय परिचयपत्रका लागि आवेदन भरेका मध्ये गत असार मसान्तसम्म २० हजार ७२५ राष्ट्रिय परिचयपत्र छापिएर जिल्ला प्रशासनमा आइसकेका छन् । अहिलेसम्म ४ हजार ४५६ जनाले मात्रै राष्ट्रिय परिचयपत्र बुझेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनका शाखाका दर्ता अपरेटर रामदत्त भट्टले बताए । आवेदन भर्नेको संख्याभन्दा छापेर आएका राष्ट्रिय परिचयपत्र बुझ्नेको संख्या न्यून छ । परिचय पत्र व्यवस्थापन शाखामा १६ हजार २६९ थान परिचयपत्र थन्किएका उनले बताए । 

दैनिक ५–६ जनामात्रै परिचय पत्र बुझ्नका लागि कार्यालयमा आउने उनले बताए । राष्ट्रिय परिचयपत्र बुझ्नका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने प्रावधान रही आएको छ । राष्ट्रिय परिचयपत्र बुझ्दा बायोमेट्रिक लिनुपर्ने भएकाले स्वयं व्यक्ति उपस्थित हुनुपर्ने भट्टले बताए । 

राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता गर्ने समयमै परिचयपत्र नम्बर पाइने भएकाले धेरैजसोले परिचयपत्र नम्बरबाट काम चलाउने गरेको उनले बताए । 

राष्ट्रिय परिचयपत्र दर्ताका लागि अहिले पनि दैनिक ७० जना जति आउने गरेका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्ने नागरिकहरुका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र बनाउनेको संख्या बढ्दै गएको छ । राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढ्दै गएपनि छापिएर आएका परिचयपत्र बुझ्नको संख्या भने न्यून रहेको छ । 

जिल्लाबाट राष्ट्रिय परिचयपत्रका लागि १ लाख ३३ हजार ४ जनाको विवरण संकलन गरिएको छ । बैंकले खाता खोल्दा र पेन्सन खाता नवीकरण गर्दा मात्र राष्ट्रिय परिचयपत्रको प्रतिलिपि अनिवार्य गरेको छ । अन्य काममा राष्ट्रिय परिचयपत्रको नम्बर भए पनि काम चल्ने भएकाले छापिएर आएका परिचयपत्र बुझ्नको संख्या न्यून रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनोद भट्टराईले बताए । राष्ट्रिय परिचयपत्र बुझ्दा बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने हुँदा परिचयपत्र बुझ्न सेवाग्राही स्वयं आउनुपर्ने उनले बताए । 

सरकारले सामाजिक सुरक्षा भत्ता, बालबालिकाको पोषण भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । परिचयपत्रको कार्ड नै नचाहिने तर नम्बर भए पनि नवीकरण गर्न सकिने भएकाले परिचयपत्र बुझ्नेको संख्यामा कमी आएको देखिन्छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update