
बैतडी–बैतडीको शिवनाथ गाउँपालिका–२ को शर्माली बजार क्षेत्रमा बिजुली बत्ती बलेको छ ।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय लाइनमार्फत शर्माली बजार क्षेत्रमा विद्युत विस्तार गरिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जर्नादन पौडेलले बताए ।
विद्युत नपुगेका ठाउँमा विद्युत विस्तार गर्ने अभियान अन्तर्गत विद्युत प्राधिकरणले शर्माली क्षेत्रमा विद्युत विस्तार गरेको हो ।
शिवनाथ गाउँपालिकाको सहजीकरण र समन्वयमा शर्माली क्षेत्रमा विद्युत विस्तार भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र, गाउँपालिका र स्थानीय युवाहरुको सक्रियतामा शर्माली बजार क्षेत्रमा सोमबार राति विद्युत बाल्न सफल भएको अध्यक्ष साउँदले बताए ।
शिवनाथ गाउँपालिकाको शर्माली र साउगडामा दुईवटा ट्रान्सफर्मर राखेर ती क्षेत्रहरुमा विद्युत विस्तार गरिएको बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले बताए । धेरै घरधुरीमा मिटर जडान कार्य भइरहेकाले सबै ठाउँमा विद्युत विस्तार गरिने उनले बताए ।
बैतडीमा पूर्ण विद्युतीकरण कार्यक्रम सञ्चालनमा रहेकाले विद्युत पहुँच बाहिर रहेका सबै ठाउँमा विद्युत विस्तार गर्ने योजना रहेको पौडेलले बताए ।
बैतडीमा २७ हजार बढी घरधुरीमा विद्युतको पहुँच पुगेको उनले बताए ।