Sagun Khabar
बैतडीमा एसईई पूरक परीक्षाको तयारी पूरा 

बैतडी –भोलि बिहीबारदेखि सञ्चालन हुने एसईई पूरक परीक्षाको बैतडीमा तयारी पूरा भएको छ । 

गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा ननग्रेडेड भएका परीक्षार्थीहरुका लागि भोलिदेखि एसईई ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिए ।

भोलि बिहीबारदेखि भदौ ६ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बैतडीमा सबै तयारी पूरा भएको उनले बताए । 

बैतडीमा एसईई पूरक परीक्षाका लागि सातओटा केन्द्र निर्धारण गरिएका र ती सबै केन्द्रहरुमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेका प्राविधिक सहायक भट्टले जानकारी दिए । 

बैतडीमा ७ सय ७० छात्र र ९ सय ११ जना छात्रा गरेर १ हजार ६८१ जना परीक्षार्थी  परीक्षामा सहभागी हुने बताइएको छ । बिहान ८ बजेदेखि सञ्चालन हुने परीक्षाका लागि सबै तयारी पूरा भइसकेकाले निर्धक्क भएर परीक्षा दिन शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले आग्रह गरेका छन् । 

बैतडीमा ग्रेड वृद्धि परीक्षाका लागि विरेन्द्र मावि शाहीलेक, कृष्ण मावि पाटन, मणिलेक मावि काँडा मेलौली, अर्जुन मावि गाँजरी, नागार्जुन मावि शर्माली,सेटीगाउँ मावि ककरपाखा र डिलेश्वरी मावि हाटलाई परीक्षा केन्द्र तोकिएको प्राविधिक सहायक भट्टले बताए । 

ग्रेडवृद्धि परीक्षामा १ सय २७ ओटा सामुदायिक र २ ओटा संस्थागत गरेर १ सय २९ ओटा विद्यालयका परीक्षार्थीहरुले सहभागिता जनाउने प्राविधिक सहायक भट्टले बताए । 

जिल्लाका १ सय ३३ ओटा सामुदायिक र ४ ओटा संस्थागत गरेर १ सय ३७ ओटा विद्यालयका विद्यार्थीहरुले एसईई परीक्षामा सहभागिता जनाएका थिए । ती मध्ये ६ ओटा सामुदायिक र २ ओटा संस्थागत गरी ८ ओटा विद्यालयका शतप्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । 

गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा सहभागी भएका ४ हजार २ सय १८ जना परीक्षार्थीमध्ये २ हजार २ सय ६ अर्थात ५२ दशमलव २९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update