
बैतडी–बैतडीमा हरेक बर्ष बेपत्ता हुनेको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार गएको तीन बर्षमा बेपत्ता भएकामध्ये ५२ जना अझै फेला परेका छैनन् ।
आर्थिक बर्ष २०७९÷८० मा १ सय ५ जना हराएकोमा ९१ जना फेला परेका थिए । ती मध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
यस्तै आर्थिक बर्ष २०८०÷८१ मा १ सय १५ जना हराएकोमा १ सय १३ जना फेला परेका थिए ।
गत आर्थिक बर्ष २०८१÷८२ मा १ सय २२ जना हराएकोमा ८६ जना फेला परेका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या बढी रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । गत आर्थिक बर्षमा ५५ महिला, २७ बालक, २९ बालिका र १ एकजना जेष्ठ नागरिक बेपत्ता भएको प्रहरीमा निवेदन परेको थियो । ती मध्ये ८६ जना फेला परेका उनले बताए ।
बेपत्ता भएको समयमा प्रहरीमा निवेदन दिएपनि कतिपयले फेला परेको जानकारी नदिने भएकाले पनि बेपत्ताको तथ्यांक बढ्दै गएको प्रहरीले जनाएको छ ।
बैतडी भारतसँग खुला सीमा भएको जिल्ला भएकाले पनि धेरैजसो भारततर्फ जाने र उतै बस्ने गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोग लगायतका कारणले पनि बेपत्ता मानिसको संख्या बढ्दै गएको छ ।
प्रहरीले बेला–बेलामा समस्या परेका नागरिकहरुको उद्धार समेत गर्दै आएको छ । ललाईफकाइ र आँफैै पनि सानै उमेरमा भारत जान खोज्ने बालबालिकाहरुको सीमा नाकाबाट उद्धार गर्ने गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
गत आर्थिक बर्षमा ५ महिला, २ बालक र तीन बालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।