
बैतडी–बैतडीको सुर्नया गाउँपालिका–४ स्थित भौनेली स्वास्थ्यचौकीको सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।
स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं सुर्नया गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष प्रतापसिंह महराको अध्यक्षता र अन्य सरोकारवालाहरुको उपस्थितीमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।
स्वास्थ्यचौकीबाट एक बर्षको अवधिमा ४ हजार ३ सय ८० जनाले सेवा लिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी दिइएको छ ।
गत आर्थिक बर्ष २०८१÷८२ मा स्वास्थ्य संस्थाबाट ३ हजार १८ जनाले उपचारात्मक सेवा लिएको स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए ।
स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र मातृ स्वास्थ्य सेवा, नवजात शिशु सेवा, खोप सेवा, पोषण सेवा, परिवार नियोजन सेवा लगायतका सेवाहरु प्रदान गरिएका महराले बताए ।
स्वास्थ्यचौकीले आफ्नै पहलमा टोलटोलमा पुगेर नसर्ने रोगको पहिचानका लागि घरधुरी अभियान सञ्चालन गरेको उनले बताए । यस्तै किशोरीहरुका लागि विद्यालयमै गएर आइरन चक्की वितरण लगायत विभिन्न जानकारीमूलक कार्यक्रम समेत सञ्चालन गरिएको उनले जानकारी दिए ।
जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्था मध्येको भौनेली स्वास्थ्यचौकीले किशोरकिशोरीहरुका लागि अलगै कक्षको व्यवस्थापन गरेर सेवा दिइरहेको छ । यस्तै चालु आर्थिक बर्षदेखि सेवा क्षेत्रभित्रका गर्भवती आमाहरुको घरमा निमन्त्रण कार्ड पठाउने कार्य शुरु गरेको छ ।
गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा,गर्भजाँचको समय, परिवारको सहयोग, पोषिलो खानेकुरा लगायतका सन्देश समेटिएको निमन्त्रणा कार्ड पठाउने कार्य शुरु गरिएको महराले बताए ।
स्थानीय श्रोत र साधनको अधिकतम उपयोग गरेर नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिन स्वास्थ्यचौकी सदैव तत्पर रहेको उनले बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष प्रतापसिंह महराले स्वास्थ्यचौकीमार्फत सञ्चालन हुने सेवाहरुलाई प्रभावकारी बनाउन आफूले सक्दो पहल गर्ने बताए ।
यस्तै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले भौनेली स्वास्थ्यचौकीले हरेक बर्ष नवीनतम् अभ्यासको थालनी गरिरहेकाले अन्य संस्थाहरुले पनि राम्रो अभ्यासको अनुकरण गर्नुपर्नेमा जोड दिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गत आर्थिक बर्षको आयव्यय विवरण समेत प्रस्तुत गरिएको थियो । भौनेली स्वास्थ्यचौकीले गत आर्थिक बर्षमा १ लाख ५१ हजार ३३ रुपैयाँ आय र १ लाख ४ हजार १७३ रुपैयाँ व्यय भएको जनाएको छ । यस्तै सोही स्वास्थ्यचौकी अन्तर्गतको शान्तिपुर सामुदायिक स्वास्थ्य इकाइमा २ लाख ६० हजार २९१ रुपैयाँ आय र १ लाख ५७ हजार ३६२ रुपैयाँ व्यय भएको जनाइएको छ । दुवै संस्थाबाट स्वास्थ्यचौकीमा १ लाख २ हजार ९२९ रुपैयाँ बचत रहेको जनाइएको छ ।
यसैबीच स्वास्थ्यचौकीले लामो समयदेखि कार्यालय सहयोगीको रुपमा काम गरिरहेका जयदेव भट्टलाई सम्मान गरेको छ । स्वास्थ्यचौकीमा गएको २६ बर्षदेखि निरन्तर सेवा दिइरहेका भट्टलाई प्रशांसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्यचौकी प्रमुख महराले बताए ।