Sagun Khabar
जंगली जनावरबाट मकैबाली जोगाउनै मुस्किल 

बैतडी –बैतडीमा जंगली जनावरबाट मकैबाली जोगाउन किसानहरुलाई मुस्किल भएको छ । 

जिल्लाका अधिकांश ठाउँमा जंगली जनावरले मकैबाली नष्ट गरेको किसानहरुले बताएका छन् । 

दिउँसोको समयमा बाँदर र रातिको समयमा जंगली बँदेल, भालु, दुम्सी लगायतका जंगली जनावरबाट मकैबाली जोगाउन मुस्किल भएको पुर्चौंडी नगरपालिका–२ महादेवस्थानका पुष्कर बोहराले बताए । दिउँसोको समयमा बाँदर र रातिको समयमा जंगली बँदेलले मकैबाली नष्ट गर्ने गरेको उनले बताए । 

जिल्लाको सुर्नया गाउँपालिका –८ दोरामा जंगली बँदेलले मकैबाली सखाप पारेको स्थानीय प्रताप मडैले जानकारी दिए । टहरा बनाएर पहरा दिँदा समेत मकैबाली जोगाउन समस्या भएको उनले बताए । उनले भने, ‘मकैबाली जोगाउन मुस्किल भएको छ । बथानसहित जंगली बँदेल बारीमा आउने गरेका छन् ।’

जिल्लाको दशरथचन्द नगरपालिकाका विभिन्न स्थानमा दिउँसो बाँदर र राति जंगली बँदेलले मकैबाली सखाप पारेको स्थानीयहरुले बताएका छन् । बाँदरले खेतबारीमा केही बाँकी नराखेको स्थानीय बिरबहादुर टेरले बताए । 

सुर्नयाका अधिकांश क्षेत्रमा बाँदर र जंगली बँदेलको आतंक रहेको छ । जिल्लाको तल्लोसोराड क्षेत्रमा पनि जंगली बँदेलबाट मकैबाली जोगाउन मुस्किल भएको किसानहरुले बताएका छन् । 

बैतडीमा १२ हजार १ सय हेक्टर जमीनमा मकैखेती गरिँदै आएको छ । हरेक बर्ष मकै जोगाउन मुस्किल भएपछि मकै खेती गर्ने किसानहरुको संख्या घट्दै गएको छ । 

बालीनाली जंगली जनावरले सखाप पार्न थालेपछि खेत समेत बाँझै राखेर रोजगारीका लागि भारत पलायन हुनेको संख्या बढ्दै गएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update