
बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका–४ को श्रीकेदारमा रामलीला महायज्ञ सञ्चालन हुने भएको छ । आगामी असोज १८ गते सञ्चालन हुने महायज्ञका लागि मूल आयोजक समिति गठन गरिएको छ ।
श्रीकेदार सांस्कृतिक संरक्षण समाजको आयोजनामा सञ्चालन हुने महायज्ञलाई भव्यताका साथ सञ्चालन गर्न आज भएको भेलाले मूल आयोजक समिति गठन गरेको हो ।
इन्द्रदेवशरण भट्टको संयोजकत्वमा गठन भएको ५६ सदस्यीय मूल आयोजक समितिको उपसंयोजकमा दोगडाकेदार गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष तर्कराज भट्ट रहेका छन् ।
समितिको सचिवमा विजयराज भट्ट, कोषाध्यक्षमा सुरेन्द्रराज कलौनी, सहसचिवमा उमेश भट्ट लगायत अन्य सदस्यहरु रहेका छन् ।
मूल आयोजक समितिले रामलीला महायज्ञ सञ्चालनका लागि आवश्यक सबै तयारी गर्ने सहसचिव उमेश भट्टले बताए ।
श्रीकेदार मावि पिपलकोटको प्रांगणमा सञ्चालन हुने रामलीला महायज्ञको पात्र छनौटका लागि बुद्धिबल्लभ धानुकको नेतृत्वमा रहेको सांस्कृतिक टीमले काम गर्ने बताइएको छ । पात्रहरुका लागि चाँडै तालिम सञ्चालन गरिने भट्टले बताए ।
हामी सबैको एउटै सार, अटुट संस्कृति हाम्रो श्रीकेदार भन्ने नाराका साथ स्थापना भएको संस्थाले विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको समाजका अध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए ।
भगवान रामचन्द्रले मानिसको रुप धारण गरेर समाजमा निष्ठा र सत्यताको पाठ सिकाएको र सोही पाठ आमजनमानसमा पुर्याउनका लागि रामलीला महायज्ञ सञ्चालन गर्ने तयारी भएको मूल आयोजक समितिका संयोजक इन्द्रदेवशरण भट्टले बताए ।
रामलीला नाटकमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि रामलीला महायज्ञ आयोजनाको तयारी भएको बताइएको छ ।
मार्यादा पुरुषोत्तम रामचन्द्र भगवानको जीवनगाथामा आधारित नाटक भएकाले यसबाट मानिसलाई धेरै कुराको सिकाइ हुने उनले बताए । राम्रो काम गरे राम्रो फल प्राप्त हुन्छ र नराम्रो कामको नराम्रो फल प्राप्त हुन्छ भन्ने सन्देश प्रवाह गर्न रामलीला महायज्ञले सहयोग पुर्याउने भट्टले बताए ।