
बैतडी–बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट एक बर्षको अवधिमा १४ हजार बढी नागरिकले सेवा लिएका छन् ।
गत आर्थिक बर्षमा प्राथमिक स्वास्थ्य केन्द्रबाट १४ हजार ३ सय ७१ जनाले सेवा लिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए ।
गत आर्थिक बर्षमा प्राथमिक स्वास्थ्य केन्द्रबाट सम्पादन गरिएका काम र प्रदान गरिएका सेवाहरुको बारेमा जानकारी दिन मंगलबार आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा संस्थाले सञ्चालन गरेका कामहरुको बारेमा जानकारी दिइएको थियो ।
प्राथमिक स्वास्थ्य केन्द्रबाट एक बर्षको अवधिमा २३ जना एचआइभी संक्रमितहरुले एआरटी सेवा लिएका छन् भने ६ जना क्षयरोगका बिरामीहरुले उपचार लिइरहेका छन् ।
यस्तै गत आर्थिक बर्षमा प्राथमिक स्वास्थ्य केन्द्रमा १७ जना डेंगु संक्रमित र ७ जना स्क्रब टाइफस संक्रमितहरुको उपचार गरिएको स्वास्थ्य केन्द्रका सिनियर अहेव इन्द्रसिंह बिष्टले जानकारी दिए ।
यस्तै प्राथमिक स्वास्थ्य केन्द्रबाट गत आर्थिक बर्षमा ६१ जना आमाहरुले सुरक्षित प्रसूती सेवा लिएका स्वास्थ्य केन्द्रकी सिनियर अनमी पुष्पा महरले जानकारी दिइन् । केन्द्रमा चौबिसै घण्टा सुरक्षित सुत्केरी सेवा सञ्चालनमा रहेको उनले बताइन् ।
यस्तै स्वास्थ्य बीमको सूचीकृत संस्थाको रुपमा रहेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट एक बर्षको अवधिमा १ हजार ४४३ जनाले सेवा लिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए ।
स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा आकस्मिक सेवा, अल्ट्रासाउण्ड सेवा, इसजी सेवा, एक्सरे सेवा,प्रयोगशाला सेवा, एम्बुलेन्स सेवा, पोष्टमार्टम लगायतका सेवाहरु प्रदान भइरहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना मेडिकल अधिकृतसहित १८ जना स्वास्थ्यकर्मीहरु कार्यरत रहेका बताइएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रको आय ४९ लाख ८१ हजार ५६ रुपैयाँ र ३२ लाख ३७ हजार ४२४ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरिएको छ ।
पाटन प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं पाटन नगरपालिका–६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य करनसिंह कठायत, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका पदाधिकारी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।