
बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका–३ गिन्नीबगडकी ३४ बर्षीया राजमती कोली गएको ८ दिनदेखि बैतडी सदरमुकाममा भौँतारिरहेकी छन् । गएको साउन १७ गते १४ बर्षीय छोरा किरण कोलीको करेन्ट लागेर मृत्यु भएपछि उनी न्यायका लागि सदरमुकाममा भौँतारिरहेकी हुन् । आजभन्दा पाँच बर्ष पहिला श्रीमान गुमाएकी राजमतीलाई अहिले पीडामा पीडा थपिएको छ ।
कक्षा ८ मा पढ्दै गरेका किरण साउन १७ गते घर नजिकैको घाटबगड भन्ने स्थानमा बालुवाको थुप्रोमा खेल्न गएका थिए । विद्युतको पोल र तारमुनि थुपारिएको बालुवामा खेल्दा किरणलाई करेन्ट लागेको र सोही कारणले उनको मृत्यु भएको थियो ।
करेन्ट लागेर मृत्यु भएका बालक किरण कोली
साउन १७ गतेका दिन छोरालाई किताब पढ्न लगाएर राजमती गिट्टी कुट्न गएकी थिइन् । उनले घर फर्किँदा किरणलाई करेन्ट लागेको कुरा सुन्दा उनी बेहोस भइन् । यता करेन्ट लागेका किरणलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
किरणको मृत्युपछि पाँच लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमतिमा घटना मिलाएको राजमतीको गुनासो छ । छोराको मृत्युको पीडामा छट्पटिएकी उनलाई त्यो सहमतिका बिषयमा थाहा भएको थिएन् । उनका कान्छा ससुरा हरिचन्द्र कोलीको रहोबरमा पाँच लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमतिपछि मृतकको दाहसंस्कार गरिएको थियो ।
राजमतीले आफ्नो खातामा पाँच लाख रुपैयाँ जमा भएको तब थाहा पाइन् जब साहु उनको घरमा पैसा माग्न आए । उनले भनिन् ‘मैले ऋण तिर्नुपर्नेछ । एकजना साहु आएर तिम्रो खातामा पैसा आएको छ । मलाई पैसा दिनुपर्यो भनेपछि मात्रै खातामा पैसा आएको छ भन्ने कुरा थाहा पाएकी हुँ ।’
राजमती कोलीको खातामा जमा गरिएको भौचर
उनले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्रबहादुर पालको कम्पनीले संकलन गरेको बालुवाको थुप्रोका कारण आफ्नो छोराको ज्यान गएको आरोप लगाएकी छन् ।
बालुवा थुपार्ने कम्पनीका मालिक र त्यसमा संलग्नलाई कानुनी कारवाही हुनुपर्ने भन्दै उनले मन्त्री पाल, उनका छोरा मुकेश पाल र वडा नं ३ का अध्यक्ष रघुबीर बोहराको नाममा किटानी जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालयमा पुगिन् । तर प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेको उनको आरोप छ । प्रहरीले किटानी जाहेरी दर्ता नगरेपछि आफूले हुलाकबाट किटानी जाहेरी पठाएको उनले बताइन् ।
पीडितले हुलाकबाट पठाएको जाहेरीको रसिद
के भन्छ प्रहरी ?
किरण मृत्यु प्रकरणका बिषयमा अहिले पनि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । घटनास्थलको मुचुल्कासँग मेल नखाने किटानी जाहेरी आएपछि दर्ता नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
बारदात अर्थात (घटना भएको स्थानमा) आरोपित भनिएका व्यक्तिको उपस्थिती वा अन्य संलग्नता पुष्टि नहुँदा जाहेरी दर्ता नभएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । यद्यपि घटनाका बिषयमा अहिले पनि प्रहरीले सुक्ष्म अध्ययन गरिरहेको उनको दाबी छ ।
हुलाकबाट पठाएको जाहेरी प्रहरीमा नपुगेको र जाहेरी पुगेमा आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।
तर राजमती कोली र उनका देवर तुलाराम कोलीले आफूहरुलाई न्याय चाहिएको बताइरहेका छन् । कानुन अनुसार घटनाको निष्पक्ष छानबीन हुुनुपर्ने उनीहरुको माग छ ।
आफूलाई कुनै जानकारी नदिइ खातामा पैसा हालेकाले घटना दबाउन खोजिएको मृतकका काका तुलाराम कोलीले बताए । मृतकका आमासँग कुनै सल्लाह नगरी खातामा पैसा हालिएको उनले बताए । तर वडा अध्यक्ष रघुबीर बोहराले भने पीडित परिवारको सहयोगका लागि संकलन गरिएको रकम खातामा जमा गरेको बताएका छन् ।
पालले विगतदेखि उक्त क्षेत्रमा चमेलिया नदीबाट बालुवा उत्खनन गरेर थुपार्ने भएकाले उनको नाममा समेत किटानी जाहेरी दिएको पीडितको भनाइ छ ।
अवैध बालुवा उत्खनन् गरि विद्युतको तारसम्म छोइने गरि थुप्रो बनाएर राख्दा समेत सम्बन्धित निकाय मौन रहेका पीडितको गुनासो छ ।
घटनास्थलमा विद्युतको तारलाई छोइने गरि थुपारिएको बालुवा
घटनाको सत्यतथ्य छानबीन गर्न कांग्रेस र रास्वपाको माग
साउन १७ गते भएको घटनामा सत्यतथ्य छानबीन गर्न नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माग गरेका छन् ।
कानुन विपरीत चमेलिया नदीबाट बालुवा उत्खनन गरि थुपारिएको र सोही कारण किरण कोलीको ज्यान गएको दुवै पार्टीले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बालुवा उत्खनन कार्यमा सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्रबहादुर पालको प्रत्यक्ष संरक्षण रहेको कांग्रेस र रास्वपाले आरोप समेत लगाएका छन् ।
घटनाका बिषयमा आफूहरुले छानबीन समिति बनाउनुपर्ने माग गरेको नेपाली कांग्रेस डिलाशैनीका सभापति जयानन्द जोशीले बताए । यसका लागि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा आफूले ध्यानाकर्षण पत्र पठाएको उनले बताए ।
कांग्रेस र रास्वपाले साउनको महिनामा बालुवा उत्खनन गरेको आरोप लगाएको भएपनि डिलाशैनी गाउँपालिकाले भने गाउँपालिका क्षेत्रभित्र नदीनालाबाट असारदेखि भदौसम्म बालुवा उत्खनन गर्न रोक लगाएको जनाएको छ ।
कतिपयले भने यो घटनामा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्रबहादुर पाललाई जबरजस्ती जोड्न खोजेको बताएका छन् । सुरेन्द्र पालको भनिएको निर्माण कम्पनी निङ्गलाशैनी कन्सट्रक्सन उनको नाममा नरहेको तर उनकी श्रीमतीको नाममा रहेको बुझिएको छ ।
उनको प्रत्यक्ष निर्देशनमा बालुवा उत्खननको आरोप लगाएको भएपनि उक्त आरोप पुष्टि हुने प्रमाण भने भेटिएको छैन् । उनलाई जबरजस्ती यो घटनामा मुछ्न खोजिएको पाल निकटका व्यक्तिहरुको गुनासो छ ।
अफवाह फैलाउनेलाई कारवाही गर्न एमाले र भातृ संगठनहरुको माग
किरण कोली मृत्यु प्रकरणमा खगेन्द्र सुनार नामक फेसबुकबाट बिहीबार मन्त्रीको गाडीले किचेर कोलीको मृत्यु भएको अफवाह फैलाइएको थियो । जबकि किरणको मृत्यु करेन्ट लागेर भएको कुरा मृतककै आमाले भनेरहेकी छन् ।
यो अफवाह फैलाएपछि नेकपा एमाले र उसका भातृ संगठनहरुले दोषीलाई कानुनको दायरमा ल्याउन माग गरेका छन् ।
एमाले बैतडीका अध्यक्ष नरेशकुमार विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा दलित अधिकारकर्मी भनिएका खगेन्द्र सुनारले व्यक्तिको चरित्र हत्या गर्ने, समाजमा भ्रम फैलाउने स्टाटस लेखेकाले उनलाई कानुनको दायरमा ल्याएर कारवाही गर्न माग गरिएको छ ।
यस्तै एमालेको युवा संगठन राष्ट्रिय युवा संघ जिल्ला कमिटि बैतडी, अनेरास्ववियु बैतडी र मुक्ति समाज नेपाल,बैतडीले छुट्टाछुट्टै विज्ञप्ती निकालेर अफवाह फैलाउने खगेन्द्र सुनारलाई कारवाही गर्न माग गरेको छ ।
यस्तै सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालको सचिवालयले पनि बिहीबार विज्ञप्ती निकालेर खगेन्द्र सुनार नामक व्यक्तिले अफवाह फैलाएको जनाएको छ । उनले लेखेको स्टाटसको खण्डन गर्दै कानुनी प्रक्रियामा अघि बढ्ने बताइएको छ ।