
बैतडी –बैतडीको सुर्नया गाउँपालिका–५ स्थित रौलेश्वर मावि रामकी बरायलमा देउडा प्रतियोगिता हुने भएको छ ।
सुर्नया गाउँपालिकाको सहयोग र लाली गुराँश महिला उद्यमी सञ्जालको आयोजनामा प्रतियोगिता सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले बताइन् ।
हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा देउडा प्रतियोगिता सञ्चालनको तयारी भएको हो । भदौ ८ र ९ गते दुई दिन देउडा प्रतियोगिता सञ्चालन हुने महिला सञ्जालकी कोषाध्यक्ष कलावती बिष्टले बताइन् ।
स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रतिभाहरुको पहिचान गर्ने उद्देश्यले देउडा प्रतियोगिताको आयोजना गरिएको उनले बताइन् ।
प्रतियोगितामा सहभागिताका लागि सबै महिला देउडीयाहरुलाई आग्रह गरिएको सञ्जालकी अध्यक्ष निर्मला महराले बताइन् ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजारसहित सम्मान पत्र, दोश्रो हुनेलाई नगद ८ हजारसहित सम्मान पत्र र तेश्रो हुनेलाई नगद ५ हजारसहित सम्मान पत्र प्रदान गरिने उनले बताइन् ।