Sagun Khabar
बैतडीमा पहिरोले एक घर पुरियो 

बैतडी–बैतडीमा पहिरोले एक घर पुरिएको छ । 

जिल्लाको पुर्चौंडी नगरपालिका–४ चनकिल्ली बस्ने हिमालय बोहराको घर शुक्रबार राति खसेको पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

अविरल बर्षासँगै शुक्रबार राति १२ बजेतिर घरमाथिबाट खसेको पहिरोले बोहराको तीन तले ९ कोठे घर पूर्ण रुपमा क्षति भएको प्रहरी निरीक्षक बडूले बताए । 

पहिरो खस्न लागेको थाहा भएपछि घरका मानिस बाहिर निस्केकाले मानवीय क्षति नभएको बताइएको छ । 

पहिरोका कारण बोहराको गोठमा बाँधेका एक भैंसी, एक पाडो र एक बाख्रो भने पहिरोमा पुरिएका प्रहरी निरीक्षक बडूले बताए । यस्तै घरभित्रका अन्नपात, लत्ताकपडा लगायत सबै सामग्री नष्ट भएका उनले बताए । 

अहिले घटनास्थलमा प्रहरीको टोली र स्थानीयहरुले पहिरो पन्छ्याउने कार्य गरिरहेका छन् । पहिरोले घर पुरिँदा भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ । 

घर पहिरोले पुरेपछि बोहराको ११ जनाको परिवार अहिले छिमेकी मोतीराम बोहराको घरमा बसीरहेका प्रहरी निरीक्षक बडूले बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update