
बैतडी –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को नतिजा सार्वजनिक गरेको छ ।
स्थानीय तहहरुको गुणस्तर परीक्षण पछि आर्थिक बर्ष २०८०÷८१ को स्वमूल्यांकनको नतिजा प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय पद्दति र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यसहित लिजा कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ ।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, बित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातारण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरेर १० ओटा सूचकको आधारमा स्थानीय तहहरुको स्वमूल्यांकन गर्ने गरिएको छ ।
मन्त्रालयले प्रकाशन गरेको नतिजा अनुसार बैतडीमा ७७.२५ अंकसहित पुर्चौंडी नगरपालिका पहिलो बनेको छ भने ३१.२५ अंकसहित मेलौली नगरपालिका पुछारमा रहेको छ ।
लिजामा दोगडाकेदार गाउँपालिकाले ७६ अंक प्राप्त गरेको छ । सुर्नया गाउँपालिकाले ७४.७५ अंक प्राप्त गरेको छ भने दशरथचन्द नगरपालिकाले ७४.५० अंक प्राप्त गरेको छ ।
यस्तै शिवनाथ गाउँपालिकाले ७४.२५ अंक प्राप्त गर्दा सिगास गाउँपालिकाले ६४.५० अंक प्राप्त गरेको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिकाले ६१.५०, पाटन नगरपालिकाले ५६.५० र पञ्चेश्वर गाउँपालिकाले ५६ अंक प्राप्त गरेको छ ।