
बैतडी–बैतडीको सिगास गाउँपालिका –५ खैरकोटस्थित भुवनेश्वरी माध्यमिक विद्यालयले सातौं पटक विज्ञापन गर्दा समेत विज्ञान शिक्षक पाउन सकेको छैन् । गएको जेठ यता ६ पटकसम्म विज्ञापन गरिसकेको विद्यालयले भदौ ४ गते सातौं पटक विज्ञान शिक्षकका लागि विज्ञापन आह्वान गरेको हो ।
७ दिनको समयसीमा तोकेर सातौं पटक विज्ञापन गरेको ५ दिन भइसक्दा समेत आवदेन नपरेको विद्यालयका सहायक प्रधानाध्यापक टेकबहादुर धामीले बताए ।
माध्यमिक तहको विज्ञान बिषयको दरबन्दी नहुँदा पठनपाठनमा समस्या आएकाले गाउँपालिकाले उक्त विद्यालयमा संघीय अनुदान कोटा अन्तर्गत विज्ञापन आह्वान गर्न पत्राचार गरेको थियो । तर जेठ यता सातौं पटक विज्ञापन आह्वान गर्दा समेत शिक्षक पाउन नसेको सहायक प्रधानाध्यापक धामीले बताए ।
नेपाल सरकारको नियम अनुसारको तलब स्केल भएपनि विज्ञान बिषय पढाउने शिक्षकको नै अभाव रहेको विद्यालयका प्रधानाध्यापक विरेन्द्रसिंह धामीले बताए । विज्ञान शिक्षक नहुँदा कक्षा ९ र १० मा चालु शैक्षिक सत्रमा विज्ञान बिषयको पठनपाठन कार्य अगाडि बढाउन निकै समस्या भएको उनले बताए ।
विद्यालयले विज्ञान शिक्षकका विज्ञापन प्रकाशन गर्दा फोनबाट धेरैले सोध्ने गरेका भएपनि आवेदन भने नपरेको सहायक प्रधानाध्यापक धामीले बताए । अन्य विद्यालयमा कार्यरत शिक्षकहरु नै तलब सुविधा सोध्ने तर आवेदन कसैले नदिएको उनको भनाइ छ। उनले भने, ‘नयाँ कोही पनि आउँदैनन् । विद्यालयमा कार्यरतहरुले तलब स्केल कति हो भनेर मात्रै सोध्छन् । नियमभन्दा बढी तलब दिन सकिने अवस्था छैन् ।’
यसअघि डोटी घर भएका एक जना शिक्षकले विज्ञान बिषय पढाउँदै आएकोमा उनले डोटीमै शिक्षण पेशा पाएपछि भुवनेश्वरी माविमा विज्ञान शिक्षकको अभाव भएको हो ।
कक्षा १० सम्मको पढाइ हुने उक्त विद्यालयले विज्ञान शिक्षकको समस्या झेल्दै आएको सहायक प्रधानाध्यापक धामीले बताए ।
जिल्लाभरीका अन्य विद्यालयहरुमा समेत गणित र विज्ञान पढाउने शिक्षकको अभाव रहेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताए ।
गणित र विज्ञान पढाउनका लागि अध्यापन अनुमति पत्र भएका बिएस्सी उत्तीर्ण गरेका शिक्षक हुनुपर्ने हुन्छ । कतिपयसँग अध्यापन अनुमति पत्र नहुँदा समस्या भएको छ भने पछिल्लो समयमा बिएस्सी अध्ययन गर्नेको संख्या समेत कम हुँदै गएको छ ।