
बैतडी –बैतडीको एक विद्यालयमा कपडा बैंकले विद्यालय पोशाक वितरण गरेको छ ।
नेपाल टेलिकम प्रादेशिक कार्यालय अत्तरीयाको सामाजिक उत्तरदायित्व कार्यक्रम र कपडा बैंक बैतडीको समन्वयमा मेलौली नगरपालिका–३ स्थित शान्तिप्रकाश आधारभूत विद्यालय ढणौनमा आज विद्यालय पोशाक वितरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत सबै १ सय ९ जना बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरिएको कपडा बैंक बैतडीका सञ्चालक महेशदत्त भट्टले बताए ।
विद्यालय पोशाक वितरण कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक कार्यालय अत्तरीयाका बरिष्ठ व्यापार अधिकृत धर्मराज भट्ट, नेपाल टेलिकम डडेल्धुराका प्रमुख विष्णुराज भण्डारी, कपडा बैंक बैतडीका सञ्चालक महेशदत्त भट्ट लगायतको उपस्थिती रहेको थियो ।
हुनेले दिने, नहुने लगेर जाने भन्ने परोपकारी भावनाका साथ माया घर बैतडीद्वारा सञ्चालित कपडा बैंकले डेढ बर्षको अवधिमा विपन्न, एक महिला, विद्यार्थी लगायतलाई कपडा वितरण गरेको सञ्चालक भट्टले बताए ।
डेढ बर्षको अवधिमा कपडा बैंकबाट १ हजार ८०७ परिवारलाई कपडा वितरण गरिएको छ । यस्तै बैंकको मेलौली शाखाबाट ३ सय ५ परिवारलाई कपडा वितरण गरिएको भट्टले बताए ।
डेढ बर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा रहेका १२ ओटा विद्यालयका विपन्न तथा दलित विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको कपडा बैंक बैतडीले जनाएको छ । अहिलेसम्म ६ सय २५ जना विद्यार्थीहरुलाई कपडा वितरण गरिएको भट्टले बताए ।
डेढको बर्षको अवधिमा शिवस्थली मावि जर्ग, विरेन्द्र मावि शाहीलेक, जगदम्बा मावि हतरङ्गा, नागार्जुन आवि सपराली, केदारेश्वर मावि दुर्गास्थान, गंगेश्वर आवि कोटीगाउँ, शिव आवि मेलौली, मणिलेक मावि काँडा मेलौली, शान्तिप्रकाश आवि ढणौन, सुदर्शन मावि लिखोडा, धर्मघर मावि सलेना र दशरथचन्द मावि सुन्दरखालीमा विद्यालय पोशाक वितरण गरिएको भट्टले बताए ।