Sagun Khabar
बैतडीमा ३० हजार बढी परिवार स्वास्थ्य बीमामा आवद्ध 

बैतडी–बैतडीमा ३० हजार बढी परिवार स्वास्थ्य बीमामा आवद्ध भएका छन् । गत बर्षको तुलनामा यो बर्ष स्वास्थ्य बीमामा आवद्ध हुने परिवारको संख्या बढेको स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालयका संयोजक जमनसिंह बडालले बताए । 

बैतडीमा स्वास्थ्य बीमामा ३० हजार १ सय ७३ परिवारका ६१ हजार नागरिक आवद्ध भएका बडालले बताए । जेष्ठ नागरिक, क वर्गको अपांगा भएका व्यक्ति, एचआइभी संक्रमित, एमडीआरटी टीबी भएका व्यक्ति, कुष्ठ रोग लागेका व्यक्तिहरुको निशुल्क स्वास्थ्य बीमा गर्ने गरिएको बडालले बताए । 

यस्तै महिला स्वास्थ्य स्वयं सेविकाहरुको स्वास्थ्य बीमा गर्दा प्रिमियमको आधा सरकारले तिर्ने गरेको बडालले बताए । 

स्वास्थ्य बीमामा आवद्ध हुन चाहने नागरिकले ५ जना सम्मको परिवार सदस्यका लागि बार्षिक ३ हजार ५ सय प्रिमियम तिर्नुपर्ने र त्यो बाफत एक लाख बराबरको उपचार निशुल्क पाइने गरेको छ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य सात सय थप प्रिमियम बुझाउनुपर्ने र उनीहरुले थप २० हजारका दरले उपचार सुविधा पाउने गरेको बडालले बताए । 

स्वास्थ्य बीमामा आवद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा उपचार सेवा पाउने गरेका छन् । बैतडीको हकमा जिल्ला अस्पताल बैतडी, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्यचौकी मेलौली सूचीकृत स्वास्थ्य संस्थाको रुपमा रहेका छन् । यी संस्थाहरुमा उपचार हुन नसकेमा रेफर गरिएका अन्य अस्पतालहरुमा पनि निशुल्क उपचार हुने गरेको संयोजक बडालले बताए । 

गरिब नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । एकमुष्ट ठूलो रकम उपचारका लागि तिर्न नसक्ने नागरिकका लागि यो निकै फाइदाजनक कार्यक्रम रहेको बडालले बताए । 

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि बैतडीका १० ओटै स्थानीय तहमा संयोजन समिति गठन गरिएको बडालले बताए । यो बर्षदेखि बीमा कार्यक्रमले कडा खालका रोगमा थप एक लाख रुपैयाँको उपचार सुविधा दिएको बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update