
बैतडी–बैतडीको मेलौली नगरपालिका–५ मा स्थानीयबासिन्दाका सात घर पहिरोको उच्च जोखिममा परेका छन् ।
आइतबारदेखि मंगलबारसम्म परेको अविरल बर्षाका कारण स्थानीयहरुका घर पहिरोको उच्च जोखिममा परेका पूर्व वडा अध्यक्ष बलभद्र दयालले बताए ।
गोपालदत्त भट्ट, फणिन्द्र पन्त, विरेन्द्रसिंह पोखरेल, रघुवर साउँद लगायतका सात जनाको घर पहिरोको उच्च जोखिममा परेका उनले बताए ।
लगातारको बर्षाका कारण घरको आँगन पहिरोले बगाएको र घर पहिरोको उच्च जोखिममा परेको स्थानीय गोपालदत्त भट्टले बताए । घर तलतिर खनिएको सडकका कारण पहिरो जोखिम निम्तिएको उनले बताए । घर पहिरोको जोखिममा परेपछि अहिले आफू अर्को घरमा सरेको भट्टले बताए ।
यस्तै गएको हिउँदमा लाखौं रुपैयाँ खर्च गरेर घर बनाएका विरेन्द्र पोखरेलको घर पनि पहिरोको जोखिममा परेको छ । घरको आँगन पहिरोले लगेपछि घर पहिरोको जोखिममा परेको पूर्व वडा अध्यक्ष दयालले बताए । ऋण काढेर घर बनाएका पोखरेल अहिले ऋण तिर्नका लागि भारतमा रहेका र घर भने पहिरोको उच्च जोखिममा परेको दयालले बताए ।