
बैतडी –भारतको उत्तराखण्डका विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण देखिएपछि बैतडीमा उच्च सतर्कता अपनाइएको छ । सीमा क्षेत्रमा बर्डफ्लुको संक्रमण देखिएकाले यहाँका पालिकाहरुले उच्च सतर्कता अपनाएका हुन् ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिकाले सूचना प्रकाशन गरी बर्डफ्लुको संक्रमणबाट बच्नका लागि सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ ।
सीमावर्ती भारतीय क्षेत्रबाट लुकीछिपी कुखुरा र कुखुराजन्य पदार्थहरु भित्रिन सक्ने भएकाले त्यस्तो कार्य नगर्न पञ्चेश्वर गाउँपालिकाले आग्रह गरेको छ । कसैले लुकिछिपी कुखुरा र कुखुराजन्य पदार्थ आयात गरेको भेटिएमा कानुन अनुसार कारवाही हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीले बताए ।
यस्तै दशरथचन्द नगरपालिकाले पनि सीमा क्षेत्रबाट कुखुरा र कुखुराजन्य पदार्थ लुकिछिपी भित्रिन सक्ने भएकाले त्यस्तो कार्य नगर्न आग्रह गरेको छ ।
यदि कुखुरामा बर्डफ्लु संक्रमणको लक्षण देखिएमा नगरपालिकाको पशु स्वास्थ्य प्राविधिक शाखामा सम्पर्क राख्न आग्रह गरिएको छ ।
बर्डफ्लु संक्रामक रोग भएकाले सीमा क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको नगरपालिकाका पशु स्वास्थ्य शाखा प्रमुख ईश्वरीदत्त भट्टले बताए ।
यसैबीच, जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले भारतीय कुखुरालाई नेपाल आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले भारतको उत्तराखण्ड राज्यको बागेश्वर र उधमसिंह नगरमा बर्डफ्लु फैलिएको विभिन्न सञ्चारमाध्यमबाट पुष्टि भएपछि नेपालमा सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।
बर्डफ्लु रोकथाम र नियन्त्रणका बिषयमा सबै पालिकाहरुलाई आग्रह गर्ने निर्णय भएको भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख गुमानीदत्त पन्तले बताए ।
बैतडीमा भारतसँग जोडिएका नाकाहरुबाट पन्छी तथा पन्छीजन्य पदार्थहरु आयातमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको पन्तले बताए ।