
बैतडी–बैतडीको मेलौली नगरपालिका–५ मा पहिरोले क्षति पुर्याएका ठाउँमा जनप्रतिनिधि लगायतको टोलीले स्थलगत निरीक्षण गरेको छ ।
बुधबार मेलौली नगरपालिकाका नगर प्रमुख भीमबहादुर चन्द नेतृत्वको टोलीले पहिरोले क्षति पुर्याएका ठाउँहरुमा स्थलगत निरीक्षण गरेको मेलौली नगरपालिका –५ का वडा सदस्य प्रेम चन्दले जानकारी दिए ।
पहिरोका कारण घरहरु जोखिममा परेका परिवारहरुसँग भेटघाट नगरपालिकाकातर्फबाट गर्न सकिने सहयोग गरिने प्रतिबद्धता जनाइएको सदस्य चन्दले बताए ।
गएको आइतबारदेखि तीन दिन लगातार परेको पानीका कारण मेलौली नगरपालिका–५ मा सातओटा घर पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको जोखिममा परेका घरहरुलाई जोगाउन गर्न सकिने उपायका बिषयमा प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको र प्राविधिक प्रतिवेदन अनुसार काम गरिने नगर प्रमुख भीमबहादुर चन्दले बताए ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक बसेर प्रभावित परिवारका लागि आवश्यक सहयोग गरिने वडा सदस्य चन्दले जानकारी दिए ।