Sagun Khabar
जेनजी प्रर्दशनका क्रममा घाइते भएका बैतडीका एकजनाको मृत्यु, शिवनाथमा आइतबार शोक बिदा 

बैतडी –जेनजी प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका बैतडीका एक किशोरको उपचारका क्रममा निधन भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–२ मडका १८ बर्षीय दिपकसिंह साउँदको उपचारका क्रममा शुक्रबार राति ८ बजे निधन भएको हो । 

भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा साउँदलाई गोली लागेको थियो । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको बताइएको छ । 

यसैबीच शिवनाथ गाउँपालिकाले भोलि (आइतबार) पालिकाभरी शोक बिदा दिएको छ । गाउँपालिकाको वडा नं २ मड घर भएका दिपकसिंह साउँदको जेनजी प्रर्दशनको क्रममा घाइते भइ उपचारका क्रममा मृत्यु भएको खबर निकै दुखित तुल्याएको गाउँपालिकाले प्रकाशन गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ । 

साउँदको निधन भएको शोकमा आइतबार पालिकाभरीका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा शोक बिदा रहेको गाउँपालिकाले जनाएको छ । 

मृतक साउँदलाई राष्ट्रिय शहीद घोषणा गरि पीडित परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउन गाउँपालिकाले नेपाल सरकारसँग माग समेत गरेको छ ।

Shibnath-1757759400.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update