Sagun Khabar
बैतडी कारागारबाट भागेका ४० जना कैदीबन्दी प्रहरीको नियन्त्रणमा  

बैतडी–जेन जी पुस्ताको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेर बैतडी कारागारबाट भागेका ६२ जना कैदीबन्दी तथा थुनुवामध्ये ४० जना कारागारमा पुगेका छन् । 

भदौ २४ गते राति बन्दीगृहमा आगजनी र तोडफोड गरेर भागेका मध्ये ४० जनालाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

प्रहरीले सूचनामार्फत भागेका कैदीबन्दी तथा थुनुवाहरुलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । भागेकामध्ये केही आँफै प्रहरीको सम्पर्कमा आएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 
भागेका मध्ये चारजनालाई भारतबाट पक्राउ गरेर कारागारमा ल्याइएको छ । भारतीय सीमा सुरक्षा बलको सहयोगमा भारतको पिथौरागढ आसपासबाट पक्राउ परेका चारै जनालाई कारागारमा ल्याइसकेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

बैतडी कारागारमा ५४ जना कैदीबन्दी र ८ जना थुनुवा रहेका छन् । जेन जी पुस्ताको आन्दोलनको क्रममा उनीहरु सबै भागेका थिए । 

कारागारबाट भागेकाहरुलाई सम्पर्क आउन प्रहरीले आग्रह गरेको र सम्पर्कमा नआउने कानुन अनुसार कारवाही हुने प्रहरी निरीक्षक पाण्डेयले बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update