
बैतडी–जेन जीको प्रदर्शनपपछि बैतडीमा लागेको कर्फ्यु तथा निषेधाज्ञा हटेपछि यहाँको जनजीवन सामान्य बन्दै गएको छ ।
कर्फ्यु तथा निषेधाज्ञा हटेपछि सवारी साधन सञ्चालनमा आएका छन् भने पसलहरु पनि खुलेका छन् । शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
जेनजीको प्रदर्शनपछि जिल्लाको अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । केही दिन नियमित रुपमा सञ्चालन हुन नसकेका सवारी साधनहरु लामो तथा छोटो दुरीमा नियमित रुपमा सञ्चालन भएका उनले बताए ।
जेन जी प्रदर्शनपछि बैतडी कारागारबाट कैदीबन्दी र थुनुवा भागेपछि थप सुरक्षा चुनौती थपिएको थियो । भागेका कैदीबन्दी र थुनुवामध्ये ४० जना प्रहरीको नियन्त्रणमका आइसकेका र बाँकीको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
जिल्लामा शान्ति, सुरक्षाको अवस्था अहिले सामान्य रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
जेन जी प्रदर्शनपछि लागेको कर्फ्यु र निषेधाज्ञा हटेपछि बजारमा चहलपहल बढ्न थालेको मुस्याचौरका होटेल व्यवसायी मानबहादुर टेरले बताए ।