Sagun Khabar
बैतडीको सुर्नयामा गर्भवती आमाहरुका लागि ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा गर्भवती आमाहरुका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड घुम्ती शिविर सञ्चालन गरिएको छ । 

गर्भावस्थामा हुन सक्ने जटीलताका बारेमा समयमै पत्ता लगाइ मातृ तथा शिशु मृत्यु रोकथामका लागि ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

गाउँपालिकाभित्र रहेका हरेक स्वास्थ्य संस्थामा शिविर सञ्चालन गर्ने योजना अनुसार शिविर सञ्चालनमा रहेको महराले बताए । भौनेली स्वास्थ्यचौकी, शंकरपुर स्वास्थ्यचौकी र शिखरपुर सामुदायिक स्वास्थ्य इकाइमा शिविर सञ्चालन भइसकेको महराले बताए । 

मंगलबार शिखरपुर स्वास्थ्यचौकी र भूमीराज आधारभूत स्वास्थ्य केन्द्रमा ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख महराले बताए । अन्य स्वास्थ्य संस्थाहरुमा शिविर सञ्चालनका लागि चाँडै मिति सार्वजनिक गरिने उनले बताए । 

आफ्नो नजिकको स्वास्थ्य संस्थामा शिविर सञ्चालन भएका बेला चेकजाँच गराउन गर्भवती आमाहरुलाई आग्रह गरिएको छ । गर्भवती आमाहरुलाई नजिकैको स्वास्थ्य संस्थाहरुबाट सेवा प्राप्त होस भनेर हरेक बर्ष ग्रामीण अल्ट्रासाउण्ड शिविरको आयोजना गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

सुर्नया गाउँपालिकाले विगतदेखि नै पालिकाका प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गर्दै आएको छ । गत बर्ष दुई सय बढी गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गरिएको थियो । अल्ट्रासाउण्ड गर्दा जटीलता देखिएका आमाहरुलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गरेकाले आमा र बच्चा दुवैलाई फाइदा पुगेको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

शिविरमा तालिमप्राप्त स्वास्थ्यकर्मीहरु गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गर्ने गरेका छन् । गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गर्दा उनीहरुको पेटभित्रको बच्चाको अवस्था थाहा हुने भएकाले यो निकै महत्वपूर्ण रहेको शिविरमा सेवा दिँदै आएकी अनमी शान्ति बडालले बताइन् ।

ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमले आमा र शिशुको ज्यान जोगाउन र समयमै जटीलता पत्ता लगाउन सहयोग पुर्याएको शिविरमा सेवा दिँदै आएकी अनमी मेनुका शाहीले बताइन् । 

ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम ग्रामीण क्षेत्रका गर्भवती आमाहरुका लागि निकै उपयोगी कार्यक्रम रहेको शिविरमा सेवा दिँदै आएकी अर्की अनमी पुष्पा धानुक महराले बताइन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update