Sagun Khabar
बैतडीमा बेलमती हत्या प्रकरण : अभियुक्त धामी पुर्पक्षका लागि कारागार चलान 

बैतडी–बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ बर्षीया बेलमती धामीको हत्यामा संलग्न अभियुक्त यज्ञसिंह धामीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

प्रहरीले आफ्नो अनुसन्धान सकाएर अभियुक्तलाई अदालतमा पेश गरेको र अदालतको आदेश अनुसार ३० बर्षीय धामीलाई आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

भदौ २२ रातिको समयमा बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेर काकी बेलमती धामीको हत्या गरेका थिए । सोही राति अभियुक्त धामीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

कर्तव्य ज्यान मुद्दामा धामीमाथि अनुसन्धान गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

यता बेलमतीको मृत्यु भएपछि उनका पाँच सन्तानको भने विचल्ली भएको छ । चार बर्ष अघि जण्डिस रोगबाट श्रीमान गुमाएकी बेलमती समेत नरहेपछि उनका पाँच छोराछोरीको विचल्ली भएको हो । 

आमा–बुवा दुवै गुमाएका बालबालिकाहरुको घरमा कोही पनि अभिभावक नरहेको मृतक बेलमतीका भाइ केशव बिष्टले बताए । घरको साहरा ढलेपछि अहिले बालबालिकाहरुलाई सम्हालिन निकै समस्या भएको स्थानीय सूर्यबहादुर बोहराले बताए । पीडित बालबालिकाहरुका लागि सहयोग अभियान सञ्चालन गरिएको उनले बताए । अभियानमार्फत संकलित रकम बालबालिकाहरुलाई प्रदान गरिने बोहराले बताए । 

बेलमतीकी जेठी छोरी कक्षा ९ मा पढ्छिन् । अब बाँकी तीन बहिनी र एक भाइको पालनपोषण गर्ने जिम्मा उनकै काँधमा आएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update