
बैतडी –जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २४ गते राति बैतडी कारागारबाट भागेकामध्ये ५२ जना कैदीबन्दी तथा थुनुवा प्रहरीको नियन्त्रणमा आएका छन् ।
फरार रहेका कैदीबन्दीलाई पक्राउ गर्नका लागि संयुक्त सुरक्षा टोली परिचालन गरिएको र अहिलेसम्म ५२ जनालाई नियन्त्रणमा लिएर कारागार चलान गरिसकेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
बाँकी रहेका १० जना फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
भदौ २४ गते राति बैतडी कारागारमा आगजनी र तोडफोड भएपछि ६२ जना फरार भएका थिए । फरार भएकामध्ये चारजनालाई भारतबाट पक्राउ गरिएको छ । फरार कैदीबन्दीलाई पक्राउ गर्नका भारतीय सीमासुरक्षा बलसँग पनि समन्वय गरिएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।
कैदीबन्दी तथा थुनुवाहरु भागेपछि जिल्लाभरीका प्रहरी युनिट र भारतीय प्रहरीसँग समन्वय गरेर उनीहरुलाई पक्राउ गर्ने कार्य जारी रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । प्रहरीले सूचनामार्फत भागेका कैदीबन्दी तथा थुनुवाहरुलाई आत्मसमर्पण गर्न आग्रह गरेको थियो ।
कारागारबाट कैदी फरार भएपछि निजहरू भाग्न र लुक्नसक्ने स्थानको विश्लेषण गरेर उनीहरुलाई पक्राउ गर्न अप्रेसन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।
संयुक्त संयुक्त अप्रेसनले बैतडीबाट फरारमध्ये ५२ जना र अन्य जिल्लाका कारागारबाट भागेर आएका ११ कैदीलाई पक्राउ गरिसकेको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिए । उनका अनुसार डडेल्धुराबाट भागेका ६ जना, डोटीबाट भागेका चार जना र दार्चुला कारागारबाट भागेका एक जनालाई बैतडीबाठ नियन्त्रणमा लिइएको हो ।
फरार रहेका कैदीबन्दी तथा थुनुवाहरुलाई कारागारमा फिर्ताका लागि आग्रह गरिएको कारागार कार्यालय बैतडीका प्रमुख धारा भण्डारीले बताइन् ।