
बैतडी –बैतडीको सुर्नया गाउँपालिका–५ नौघरकी १७ बर्षीया अप्सरा चन्दको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ ।
मृतकका आफन्तले आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएपछि एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
अप्सरा बुधबार बिहान सुर्नया नदी किनारमा मृत फेला परेकी थिइन् । उनले सुर्नया नदीमा हाम फालेर आत्महत्या गरेको आशंका गरिएको छ ।
चार दिन पहिला एक स्थानीय युवक र अप्सराको तस्बिर जोडेर फेसबुक आइडी बनाइएको थियो । सामाजिक सञ्जालमा ‘अप्सरा भरत विश्वकर्मा’ नामको फेसबुक आइडी खोलेर स्थानीय भरत विक र अप्सराको तस्बिर एडीट गरी प्रोफाइल तस्बिर नै राखिएपछि बेइज्जतीको डरले यस्तो घटना भएको मृतक अप्सराका आफन्तले बताएका छन् । उक्त आइडी भरत विकले नै बनाएको उनीहरुले बताएका छन् ।
फेसबुकमा अप्सराको फोटो सहित बनाइएको आइडी धेरै मानिससँग साझा गरिएको र त्यसपछि अप्सरा आत्महत्या गर्ने सम्मको अवस्थामा पुगेकी मृतकका जेठाबुवा बिरबहादुर चन्दले बताए । उनले भने, ‘अप्सरा र स्थानीय भरत विकको फोटो राखेर फेसबुक आइडी बनाएपछि यस्तो घटना भएको छ । त्यसैले यो घटनाको निष्पक्ष अनुसन्धान गर्न हामीले माग गरेका छौं । यही कारणले अप्सराले आत्महत्या गरेको हाम्रो ठहर छ ।’
अप्सरा मृत्यु प्रकरणमा अनुसन्धान गर्नका लागि प्रहरीमा किटानी जाहेरी दिएको चन्दले बताए । तर भरतले भने आफूले आइडी नखोलेको बताउँदै आएका छन् । भरत र अप्सरा रौलेश्वर मावि रामकी बरायलमा कक्षा १२ मा अध्ययनरत थिए ।
घटना शंकास्पद भएपछि प्रहरीले बुधबार नै भरत विकलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बडूले बताए । विकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
मृतकले प्रयोग गर्ने मोबाइल फेला परेको र यो बिषयमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक बडूले बताए ।